PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रधानमन्त्री ओलीको 'यु टर्न': बालुवाटारबाट खुमलटार पुगेर दोहोर्‍याए पुरानै अडान, प्रचण्डले गरे अस्वीकार



प्रकाश भण्डारी

प्रधानमन्त्री ओलीको 'यु टर्न': बालुवाटारबाट खुमलटार पुगेर दोहोर्‍याए पुरानै अडान, प्रचण्डले गरे अस्वीकार

काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर भेटे।

नेकपाभित्र विवाद बढ्दै जाँदा खुमलटारमा ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउदै प्रचण्डले प्रस्तुत गरेको 'आरोप पत्र' फिर्ता लिन अनुरोध गरेका थिए। तर प्रचण्डले आरोप पत्र फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेका छन्।

ओलीले कुनै नयाँ प्रस्ताव नल्याएको र पुरानै अडान खुमलटार पुगेर दोहोर्‍याएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका। 'उहाँको अडान जे थियो त्यही नै छ। आरोप पत्र फिर्ता लिनुस भन्नुभयो,' उनले भने।

ओलीको 'यु टर्न'

नेकपकाको विवाद समाधानमा प्रचण्डको प्रस्तावलाई आरोप पत्रको संज्ञा दिएका ओली शनिवार एकाएक खुमलटार पुगेका हुन्। ओलीले प्रचण्डलाई छलफलका लागि बिहानै बालुवाटार बोलाएका थिए। तर प्रचण्डले आफू सधै बालुवाटार आउनु मात्रै ठिक नभएको भन्दै उल्टै ओलीलाई खुमलटार आउन अनुरोध गरेका थिए। प्रचण्डले बालुवाटार नआउने बताएपछि ओली बालुवाटारबाट बाहिरिएका हुन्। खुमलटारमा दुई अध्यक्षबीचको छलफलमा पार्टी उपाध्यक्ष वामदेव गौतमसमेत उपस्थित थिए।

यसअघि बिहीवार भएको ओली प्रचण्डको भेट तिक्ततापूरण भएको थियो। शुक्रवार प्रचण्ड-नेपाल समूहले गरेको प्रदेश १ स्तरीय भेलामा प्रचण्डले ओलीलाई दुवै पदबाट हटाउनुको विकल्प नभएको धारणा व्यक्त गरेका थिए।

पार्टी कमिटीमा अल्पमतमा रहेका ओली पछिल्लो समय प्रचण्ड र बरिष्ठ नेता माधव नेपालको समिकरणसँग लचक हुँदै आएका छन्। यसअघि प्रचण्डको प्रस्तावलाई छलफल गर्नै नसकिने अडानमा रहेका ओलीले पछि भने प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए। यस्तै, मंगलवार ल्याएको संवैधानिक परिषदको अध्यादेश फिर्ता लिन समेत ओली तयार भए। प्रचण्ड-नेपाल समूहले आफूलाई दुवै पदबाट हटाउन तयारी गरेपछि ओली केही लचक भएको प्रचण्ड-नेपाल समूहका नेताहरुको दाबी छ।

प्रचण्डसँग सम्बन्ध सुधारको प्रयास

अरुबेला प्रचण्डसँग 'आर कि पार' हुने भन्दै संवाद गरिरहेका ओली आज भने हार्दिकताका साथ प्रचण्ड निवासमा प्रस्तुत भएका थिए। आफू अप्ठेरोमा परेको र त्यसमा सहयोग गर्न प्रचण्डलाई ओलीले अनुरोध गरेका थिए। तर प्रचण्डले भने आफू एक्लैले मात्रै पार्टीको संकटबारे निर्णय नगर्ने ओलीलाई बताएका थिए।

'म एक्लैले मात्रै गरेर हुनेकुरा भएन। अब पार्टीको बैठकबाटै समस्याको समाधान हुन्छ,' प्रचण्डलाई उदृत गर्दै उनी निकट स्रोतले भन्यो।

लामो समयसम्म खुमलटार नगएका ओली आज एकाएक खुमलटार जान तयार भएका थिए। खुमलटार पुगेपनि उनले प्रचण्डसँग सहमतिका लागि कुनै नयाँ प्रस्ताव भने नगरेको बताइएको छ।

खुमलटारमा नेताको भिड

ओली खुमलटारमा पुगे लगतै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। ओली खुमलटारबाट फर्किएपछि बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगे। पार्टीमा देखिएको समस्याको समाधान गर्नका लागि प्रचण्डलाई मनाउन ओली पुगेको भएपनि प्रचण्ड निकट नेताहरु भने ओली अबको स्थायी कमिटी बैठकको तयारीका लागि खुमलटार पुगेको बताइएको छ। शुक्रवार भएको प्रचण्ड-नेपाल समूहको भेलामा गौतम भने उपस्थित भएका थिएनन्। उनले कुनैपनि भेलामा आफू उपस्थित नहुने बताएका थिए।

यसरी गले ओली

आफू बिरोधी गुटलाई निस्तेज पार्ने उदेश्यका साथ ओलीले मंगलवार अध्यादेश ल्याए। तर अध्यादेश फिर्ता गर्नुपर्ने सहमति उनले २४ घण्टा भित्रै गर्नुपर्‍यो। जसको मुख्यका कारण थियो, ८३ सांसदको हस्ताक्षर।

बुधवारको स्थायी कमिटी बैठक सुरु हुनुअघि नै प्रचण्ड-नेपाल समूहले दुईथरी रणनीतिसँगसँगै चालेको थियो। शीतल निवासमा संसद अधिवेशनको माग र ओलीलाई स्थायी कमिटीमा बस्न बाध्य पार्ने काम प्रचण्ड-नेपाल समूहले एकै साथ गरेको थियो। शीतल निवासमा आफूलाई गलाउन आफू इतरका नेताहरु पुगेको खबर पाए लगत्तै ओली आफ्नो पुरानो अडानबाट पछि हटेका थिए। बरु उनले पनि अर्को अडान राखे- अधिवशेन आह्वानको पत्र फिर्ता र अध्यादेश पनि फिर्ता। त्यही सहमति अनुसार बुधवार स्थायी कमिटीमा ओली सहभागी भए। तर ओलीले अध्यादेश फिर्ता लिने सहमति पालना गर्न आनाकानी गरेपछि प्रचण्ड-नेपाल समूह ओली विरुद्ध कडा कदम चाल्ने तयारीमा छ। त्यसैको चाल पाएका ओलीले प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए।

बादललाई भेट

खुमलटारमै पुगेर प्रचण्डलाई भेटेका ओली पुल्चोकमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री निवास पुगेका थिए। पूर्व माओवादी समूहप्रति आक्रामक देखिएका ओलीले एकैदिन बादल र प्रचण्डलाई घरमै गएर भेटनुलाई नेकपा विवादमा अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपा विवादको सुरुवाती चरणमा ओलीको खेमामा रहेका बादल पछिल्लो समय भने प्रचण्ड-नेपाल समूहमा पुगेको चर्चा चलिरहेको छ। भोलीको स्थायी कमिटी बैठकमा आफू विरुद्ध कदम चाल्ने सुईको पाएपछि ओली पूर्व माओवादीलाई फकाउने रणनीतिमा लागेको ओली निकट नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell