PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

पर्सागढी नेपालकै गर्व गर्ने ऐतिहासिक ठाउँ हो, उत्सव मनाउनु पर्छ : प्रजिअ तामाङ



राधेश्याम पटेल

पर्सागढी नेपालकै गर्व गर्ने ऐतिहासिक ठाउँ हो, उत्सव मनाउनु पर्छ : प्रजिअ तामाङ

वीरगंज : पर्सागढी नेपालकै गर्व गर्ने ठाउँ भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज एवं पर्सागढी नगरपालिकाको संयुक्त आयोजनामा पर्सागढी प्रवर्द्धन एवं प्रचार हेतु अवलोकन भ्रमण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

पर्सागढी नगरपालिकाको वडा नम्बर ६ जिंगनामा पर्ने पर्सागढी स्तम्भ तथा पर्सागढीवासीको कुल देवता बन्हर बाबाको मन्दिर प्रांगणमा भएको कार्यक्रममा उनले पर्सागढीको संरक्षण तथा प्रवर्द्धनको विषयमा सक्दो सहयोग समेत गर्ने आश्वासन दिए। विसं १८७१ पुस १९ गते बागवान्नाका स्थानीय बासिन्दा रञ्जीत चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिस सेनाका कामान्डर बेनेट मार्लीको टोलीमाथि विभिन्न युद्धकला लगाएर पराजित गरी धपाएको ठाउँ भएकोले यसको विकास पनि सोही अनुरुप गर्दै जानु पर्नेमा उनको जोड थियो।

उनले नेपालका अन्य गढी जस्तै पर्सागढीको महत्व र विशेषता महत्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिका, सम्पूर्ण पर्साका जनता तथा व्यक्तिव्यक्तिको सहयोग हुनु पर्ने उनको भनाइ थियो।

कार्यक्रममा पर्सागढीका मेयर लोकनाराययण यादवले पर्सागढी हरपुर, जिगना, पचरुखी, बागेश्वरी तित्रौना र बागवन्ना गरी ५ वटा गााउँको धरोहर भएको बताए। उनले १८७१ मा अंग्रेज सेनाहरु पर्सागढीको सीमानामा आएर विश्राम गरी १ जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जीत चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिघयाई खोलामा बाध बाँधिएको चर्चा गरे। साँझको समयमा सयौंको सख्यामा राँगो, गोरु, गाई, भैसीको सिङमा लकार (मसाल) बाँधेर दुवै खोलामा तैराउँदा रातिको समय भएकोले अंग्रेजको बटालिनले हजारौँको संख्यामा नेपाली सेना आउँदै छन् भनी डराएर भागेको किम्बदन्ती सुनाए। त्यसपछि ब्रिटिस सेनाले गोरुहरुमाथि आक्रमण गरी आफ्नो हतियार सिद्धाएको उनले बताए। गोर्खाली सेना र पर्सागढीवासीले भाला, गडासी, तरबार, खुकुरी, हसियालगायत हतियारको सहायताले अंग्रेजविरुद्ध विजय हासिल गरेको उनको भनाइ छ।

ब्रिटिस सेनाको हतियार तथा गोलीगाठा समाप्त पारेको, त्यसपछि गोर्खाली सेना र गाउँले मिलेर स्थानीय हातहतियारले ब्रिटिश सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आगामी पुस १९ गते पर्सागढीमा विजय उत्सव मनाउने नगरपालिकाले निर्णय गरेको उनले जानकारी समेत दिए।

पर्सागढीकी उपमेयर अर्चना चौधरीले पर्सागढीको एतिहाससँग जोडिएको वस्तु, प्रमाण तथा हातहतियारलाई संकलन गरी संग्राहलय बनाउनु पर्नेमा जोड दिइन्। उनले विजय स्तम्भ तथा धर्मशालाको काम यसैवर्ष शुरु गर्ने त्यसको लागि मेयर यादवसंग मिलेर जाने प्रतिबद्धता जनाइन्।

चण्डीप्रसाद गण श्रीपुरका गणपति प्रमुख सेनानी मदनजग राणाले नेपालमा भएको गढीहरुको संरक्षण र प्रवर्द्धनको काममा नेपाली सेनाले सघाउने नेपाल सरकारको नीति अनुसार आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell