स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि सहज जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एट्लेटिको मड्रिडले एल्चेमाथि ३-१ गोलअन्तरको जित निकालेको हो।
एटलेटिकोको जितमा लुइस स्वारेजले दुई गोल गर्दा डिएगो कोस्टाले एक गोल गरे। उता एल्चेका लागि लुकास बोइले सान्त्वना गोल फर्काए।
खेलको ४१ औं मिनेटमा स्वारेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको एटलेटिकोका लागि दोस्रो गोल पनि स्वारेजले नै ५८ औं मिनेटमा गरे। उता एल्चेका लागि बोइले ६२ औं मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउन चाहे। तर, ८० औं मिनेट पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै घरेलु टोलीका लागि कोस्टाले गोल थपे। र, मड्रिडले ३-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। उसले १२ खेलबाट २९ अंक जोडेको छ भने १४ र १३ खेलबाट समान २६ अंक जोडेका रियल सोसिडाड र रियल मड्रिड तालिकाको दोस्रो र तेस्रो स्थानमा छन्।
