PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बराबरीमा रोकिए बार्सिलोना र भ्यालेन्सिया, मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी



पहिलोपोस्ट

बराबरीमा रोकिए बार्सिलोना र भ्यालेन्सिया, मेस्सीले गरे पेलेको कीर्तिमानसँग बराबरी

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोना र भ्यालेन्सिया बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएको हो।

खेलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा मोक्तार दिएकाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। उता बार्सिलोनाले ४५ औं मिनेटमा पेनाल्टीको अवसर पायो जसमा लियोनल मेस्सी चुके पनि लगत्तै हेडिङमार्फत गोल गर्दै कीर्तिमान बनाए।

मेस्सी पेलेको एकै क्लबबाट ६४३ गोल गरेको कीर्तिमानसँग आफ्नो कीर्तिमान बराबरी समेत गरेका छन्। हाल ८० वर्षका पेलेले १९ सिजन खेल्दै ब्राजिलियन क्लब सान्टोसबाट ६४३ गोल गरेका थिए।

पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा बार्सिलोनाका रोनाल्ड अराउजोले घरेलु टोलीलाई अग्रता दिलाए। उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए। तर उता भ्यालेन्सियाका लागि ६९ मिनेटमा म्याक्सिमिलिआनो गोमेज गोञ्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै तर्फबाट गोल हुन नसक्दा खेल २-२ को बराबरीमा रोकियो।

बराबरीसँगै बार्सिलोना २१ अंकसहित पाँचौं स्थानमा यथावत छ भने १५ अंक जोडेको भ्यालेन्सिया तालिकाको १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell