जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिख लेवरकुजिनलाई हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। बेएरेन स्टेडियममा भएको खेलमा घरेलु टोली लेवरकुजिनलाई हराउँदै बायर्न शीर्षस्थानमा उक्लिएको हो।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दोहोरो गोल गरे। खेलको १४ औं मिनेटमै प्याट्रिक सिकले गोल गर्दै लेवरकुजिनलाई अग्रता दिलाएका थिए। तर खेलको ४३ औं मिनेटमा थोमस मुलरको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेल बराबरीमा ल्याए। र, पहिलो हाफ १-१ को बराबरीमा टुंगियो।
दोस्रो हाफमा बायर्नलाई फेरि लेवान्डोस्कीले नै अग्रता दिलाए। उनले खेलको अतिरिक्त समयमा जोसुआ किममिचको पासमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरे।
जितसँगै बायर्न लेवरकुजिनलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। अंकतालिकामा बायर्नले १३ खेलबाट ३० अंक जोडेको छ भने समान खेल खेलेको लेवरकुजिन २८ अंकसहित दोस्रो स्थानमा छ।
