इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले फराकिलो जित निकालेको छ। इन्निओ टार्डीनी स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोली पार्मामाथि ४-० गोल अन्तरको सहज जित निकालेको हो।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दा डेजन कुलुसेभ्स्की र अर्भेरो मोराटाले समान १/१ गोल गरे।
खेलको २३ औं मिनेटमै अल्भेरो मोराटाको पासमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको २६ औं मिनेटमा मोराटाकै पासमा रोनाल्डोले गोल थप्दा पहिलो हाफमै युभेन्टसले दुई गोलको अग्रता बनायो।
दोस्रो हाफमा फेरि रोनाल्डोले नै अर्को गोल थपे। उनले खेलको ४८ औं मिनेटमा गोल गर्दा अल्भेरो मोराटाले ८५ औं मिनेटमा गोल गरे। र, युभेन्टसले ४-० को जित निकाल्यो।
जितसँगै युभेन्टसले तालिकाको दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग अंक बराबरी गरेको छ। १२ खेल खेलेको इन्टर मिलान २७ अंक सहित दोस्रो स्थानमा छ भने १३ खेल खेलेको युभेन्टस समान २७ अंकसहित दोस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा २८ अंकसहित एसी मिलान छ।
