इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल एभर्टनसँग पराजित भएको छ। गुडिसन पार्कमा भएको खेलमा आर्सनल घरेलु टोली एभर्टनसँग २-१ गोलअन्तरले पराजित भएको हो।
एभर्टनले खेलको २२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता बनाएको थियो। आर्सनलका रब होल्डिङले २२ औं मिनेटमा आत्मघाती गोल गर्दा एभर्टनले अग्रता बनायो। यद्यपि ३५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै आर्सनलका लागि निकोलस पेपेले गोल गरे। उता एभर्टनका लागि गिल्फी सिगुरोसनको पासमा येरी मिनाले ४५ औं मिनेटमा गोल गर्दै एभर्टनलाई फेरि अग्रता दिलाए।
पहिलो हाफमै खेल २-१ ले एभर्टनको पक्षमा थियो। दोस्रो हाफमा दुवै पक्षले गोल गर्न नसक्दा खेल एभर्टनले आफ्नो पक्षमा पार्यो। प्रिमियर लिगका पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गरिरहेको आर्सनलको यो जारी सिजनको ८ औं पराजय हो।
जितसँगै एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। एभर्टनले १४ खेलबाट २६ अंक बनाएको छ। तालिकाको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ। उता आर्सनल भने १४ खेलबाट १४ अंक जोड्दै तालिकाको १५ औं स्थानमा छ।
