PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

वीरगंजमा प्रचण्ड–माधव पक्षको प्रदर्शन, केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री बहुलाए’



राधेश्याम पटेल

वीरगंजमा प्रचण्ड–माधव पक्षको प्रदर्शन, केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री बहुलाए’

वीरगंज : प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेको विरोधमा नेकपाका नेता, कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

कार्यक्रममा बोल्दै नेताहरूले प्रधानमन्त्री ओलीले चालेको कदम नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रम ओलीले चालेको कदम असंवैधानिक, अव्यवहारिक तथा पार्टीविरोधी भएको उनीहरुको भनाई थियो। कार्यक्रममा प्रधानमन्त्री मुर्दावाद भन्दै चर्को नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले केही नेताहरूलाई पक्राउ गरी छाडेको थियो।

कार्यक्रममा प्रमुख अतिथि एवं नेकपाका केन्द्रीय सदस्य दिनेश राईले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीमाथि बन्चरो हानेर अपाङ्ग बनाएको आरोप लगाए। जनता दिएको बहुमतको सरकार प्रधानमन्त्री ओलीलाई नपचेको बताए। उनले प्रधानमन्त्री बहुलाहाएको आरोपसमेत लगाए।

जिल्ला सचिव विजय महतोको सभापतित्वमा भएको विरोध कार्यक्रममा प्रदेश सदस्य शम्भु गुप्ता, रामबाबू बैठा, छोटेलाल यादवलगायतले मन्तव्य व्यक्त राखेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सदस्य मनोज चौधरीले गरेका थिए।

जसपाको पनि प्रदर्शन

यसैगरी राजपा पर्साका नेता, कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। जसपाका वरिष्ठ नेता एवं पूर्वसांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै आफ्नो पार्टी सर्वोच्च अदालत जाने बताए। देशलाई टाट पल्टाएर संविधानविपरीत काम गर्ने ओलीको कदम राष्ट्रघाती भएको भन्दै अदालत जाने उनको भनाई छ। विरोध प्रदर्शनमा राजपाका नेता, कार्यकर्ताहरुको सहभागिता थियो।

बारामा टायर बालेर विरोध

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताले बाराको कलैयामा प्रदर्शन गरेका छन्। प्रधानमन्त्रीको कदमको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। बाराको कलैयामा नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादवलगायत नेता कार्यकर्ताहरुले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। ‘संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell