PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जयबहादुर र ओलीको संयोग : आईजीपीको ‘फूली खोसेका’ ओलीले आयुक्तमा गरे सिफारिस



पहिलोपोस्ट

जयबहादुर र ओलीको संयोग : आईजीपीको ‘फूली खोसेका’ ओलीले आयुक्तमा गरे सिफारिस

काठमाडौं : संघीय संसद्को निर्वाचन अघि तत्कालीन प्रतिपक्षले उठाएको एउटा जबर्जस्त एजेण्डा थियो आईजीपी प्रकरण। प्रकरण प्रहरीको नेतृत्व चयनमा मात्र सीमित भएन। तत्कालीन प्रधानन्यायधीशउपर महाभियोगको प्रस्तावसम्‍म पुग्यो। विपक्षी बलियो चुनावी एजेण्डा बनाएको उक्त प्रकरणका एक पात्र थिए- जयबहादुर चन्द।

केही घण्टाका लागि आईजीपी बनेका उनले फूली लगाउन पाएनन्। प्रहरी प्रमुखमा उनको यात्राको अवरोध तत्कालीन एमाले नै थियो। तर, फन्टलाइनमा सर्वोच्च अदालत थियो।

तिनै चन्‍द पुनः प्रतिनिधिसभा विघटनको सेरोफेरोसँगै चर्चामा आएका छन्। तत्कालीन प्रतिपक्ष र अझ भनौँ हालका प्रधानमन्त्री केपी ओलीले नरुचाएका पात्र उनै ओलीको अध्यक्षतामा रहने संवैधानिक परिषद्को सिफारिसमा अख्तियारमा आयुक्त सिफारिस भएका छन्।  संयोग जुन पार्टीले उनलाई महानिरीक्षक बनाउन रोक्यो त्यही पार्टीको नेता अध्यक्ष रहने संवैधानिक परिषदले चन्दलाई आयुक्त सिफारिस गर्‍यो।

+++

नेपाल प्रहरीको २५औं महानिरीक्षकका लागि सत्तारुढ दुई दल नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच भद्र सहमति बन्यो -सशस्त्र प्रहरी प्रमुख माओवादीले छान्ने र नेपाल प्रहरी प्रमुख नेपाली कांग्रेसले। जयबहादुर चन्दलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुचाए। त्यतिखेर गृहमन्त्री थिए विमलेन्द्र निधि। तर निधि चन्दलाई होइन नवराज सिलवाललाई महानिरीक्षक बनाउन चाहान्थे।

देउवाको अगाडि निधिको केही चलेन। २०७३ फागुन १ गते बिहानै मन्त्रिपरिषद्को बैठक बस्यो र जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गर्‍यो। मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक भइनसक्दै सर्वोच्च अदालतमा रिट दायर भयो। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारको त्यो निर्णय कार्यान्वयन नगर्न  अन्तरकालीन अन्तरिम आदेश जारी गर्‍यो। नियुक्त भइसकेपछि पनि चन्दले दर्ज्यानी चिह्न लगाउन पाएनन्।

सरकारले प्रहरी नियमावली संशोधन गरेर प्राविधिक तर्फका एआइजी डा दिनेशचन्द्र पोखरेललाई निमित्तको जिम्मेवारी दियो।

लामो समयसम्म प्रहरी महानिरीक्षक नियुक्तिको मुद्दा अदालतमा चलिरह्यो। प्रधानन्यायाधीश सुशीला कार्कीले यो मुद्दाका लागि आफ्नै नेतृत्वमा बृहद् पूर्ण इजलास गठन गरिन्। यस्तो इजलासले गरेको फैसला पुनरावलोकन हुँदैन। इजलासले चन्दको नियुक्ति बदर मात्रै गरेन, कार्य सम्पादन मूल्याङ्कनमा नवराज सिलवाल एक नम्बरमा रहेको भन्दै उनको वैध अपेक्षा पूरा गर्न र कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा रहेको व्यक्तिलाई आईजीपी नियुक्ति गर्न चैत ८ गते परमादेश दियो।

तर, नवराज सिलवाल आईजीपि भएनन्। सरकारले डीआईजी प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गर्‍यो। सिलवाल आफूलाई अन्याय भएको भन्दै राजनीतिमा होमिए। उनलाई एमालले पार्टीमा प्रवेश मात्र गराएर टिकट समेत थमाएर ललितपुरबाट सांसद बनायो। सिलवाल निर्वाचित सांसद बने।

तर, चन्द भने प्रहरीमा नै एआइजी भएर बसिरहेका थिए। ३० वर्षीय सेवा अवधिका कारण जयबहादुरले २०७४ चैतमा अवकाश पाए। त्यसपछि चन्द एकाएक हराएका थिए। कहिले कुनै मिडियामा लगानी गर्न पुगे त कहिले व्यापार तर गुमना नै थिए।

तर, आइतबार उनको नाम अख्तियारको आयुक्तमा सिफारिस भएको खबर बाहिरियो। मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णयका आधारमा चन्द आयुक्त सिफारिस भए। महानिरीक्षक हुनबाट रोकिएका चन्द आयुक्त सिफारिस भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell