PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको पुष्टि : विप्लव



पहिलोपोस्ट

दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको पुष्टि : विप्लव
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संसदीय व्यवस्थाको असफलता पुष्टि भएको बताएका छन्। आइतवार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।

विज्ञप्तिमा विप्लवले भनेका छन्, ‘दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको आवश्यकतालाई निर्विकल्प रूपले पुष्टि गरेको छ।’

महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो संकट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप ओलीले यो कदम चालेको बताएका छन्।

‘नेपाली जनताको अग्रगामी एवं रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र संकट आउनु अनिवार्य थियो,’ विज्ञप्तिमा भनिएको छ।

तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि पूर्णतः असफल भइसकेको संसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान होला भन्ने भ्रममा पर्नु नहुने उनको भनाइ छ।

उनले भने, ‘यो संकटको वास्तविक समाधान, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, बामपन्थी, प्रगतिशील, लोकतन्त्रवादी, देशभक्त शक्तिहरूलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चावन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell