काठमाडौं : हरेक वर्ष फागुनमा हुँदै आएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) यो वर्ष दुई महिना पछि हुने भएको छ। महोत्सवको चौथो संस्करण फागुन १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौंमा हुने घोषणा गरिएको थियो। तर, कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले फेस्टिभल २०७८ बैशाखको २३ देखि २७ सम्मका लागि तय गरेको छ।
विश्वभरका फिल्म निर्माता/निर्देशकलाई सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो। २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकले बताए।
प्राप्त फिल्ममध्येबाट छानिएका फिल्मको सूची फागुन ८ (फ्रेब्रुअरी २०,२०२१) मा सार्वजनिक गरिनेछ।
‘महामारीका कारण फिल्ममेकर चाहेर पनि फेस्टिभलमा सहभागीहुन सक्ने अवस्था छैन। भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’पाठकले भने, ‘ केही समय कुर्दा पुरानै स्वरुपमाफेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं।’
‘विश्वका कथाहरुको कथ्य उत्सव’भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरुभएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको थियो। ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ भने यो फिल्मले इन्टरनेसनल फेडरेसन अफफिल्म सोसाइटिजको जुरीको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ। यसैगरी अन्तर्राष्ट्रिय विधातर्फै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मतीअर्वाड प्रदान गरिनेछ।
साथै नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख नगद, उत्कृष्ट सर्ट फिल्मलाई रु. ५० हजार नगद र सर्ट फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफि प्रदान गरिनेछ। यो बाहेक फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ।
