PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

अभिनेत्री मनीषा कोइरालासँग श्रृङ्खला खतिवडाको ‘जिजीविषा’ वार्ता



पहिलोपोस्ट

अभिनेत्री मनीषा कोइरालासँग श्रृङ्खला खतिवडाको ‘जिजीविषा’ वार्ता

काठमाडौं :  अभिनेत्री मनीषा कोइरालाको संस्मरणात्मक कृति 'हिल्ड'को नेपालीमा अनुवाद भएको छ। 'जिजीविषा' नाम दिइएको किताबलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो। अनुवाद पत्रकार स्वरुप आचार्यले गरेका हुन्।

आइतवार पुस्तकमाथिको चर्चासहित भिडियो सार्वजनिक भयो। जसमा उनले किताबको पृष्ठभूमी, त्यसमा समेटेका विषयदेखि राजनीतिक रुचीका विषयमा छलफल गरेकी छिन्।

क्यान्सरले दिएको भोगाइ र ती भोगाइले सिकाएको कुरा आफूमा सीमित नराख्न पुस्तक लेखेको उनको तर्क छ।

‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन। अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो। यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ। र, त्यसलाई पछि पुस्तकका रुपमा ल्याएकी हुँ’, उनले प्रष्ट्याइन्। 

मनीषालाई पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले प्रश्न गरेकी थिइन्। उनले राजनीतिमा लाग्ने विषयमाथि प्रश्न गर्दा मनीषाले भनिन्,'राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ। यसलाई सेवाका रूपमा हेर्न सक्छु। सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ। समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन्। समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र?’

राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको उनको भनाइ छ। ‘म राजनीतिक बातावरणमा हुर्किएँ। मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटनाक्रमको साक्षी पनि बनेकी छु,’ उनले भनिन्, ‘तर यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन।’

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचे जस्तो नहुने उनले बताइन्। भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु।’ धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सन मात्र देखाउने तर आफूले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’लाई प्रकटीकरण गरेको उनको भनाइ छ। ‘म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन्।

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन्। ‘पहिला म धेरै केयरलेस थिएँ। रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा मनुष्यजीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन्। 

मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्ने बुझाइ रहेको छ उनको।  

उनको पुस्तकमा क्यान्सरले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिसँगै जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell