PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संसद विघटन भएको छैन, बाटोमा हिँड्दा हिँड्दै कसैले संसद विघटन गर्दैमा मान्दैनौं: नेता नेपाल



प्रकाश भण्डारी

संसद विघटन भएको छैन, बाटोमा हिँड्दा हिँड्दै कसैले संसद विघटन गर्दैमा मान्दैनौं: नेता नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन नभएको प्रतिक्रिया दिएका छन्। संसद भवनमा सांसदहरुसँग छलफलका लागि पुगेका नेपालले पत्रकारहरुको जिज्ञासामा यस्तो बताएका हुन्।

'संसद विघटन भएको छैन। संसद विघटन गर्ने अधिकार उहाँ (प्रधानमन्त्री)लाई छैन,' उनले भने, 'असंवैधानिक तरिकाले गरिएको संसद विघटन हामीले मान्दै मान्दैनौँ। यसका लागि हामीले कुन बाटो जानुपर्छ जान्छौँ।'

उनले राष्ट्रपतिले पनि बाटोमा हिँड्दै गर्दा संसद् विघटन गरेको टिप्पणी गरे। 'राष्ट्रपतिलाई पनि त्यो अधिकार छैन। संसदहरुले विरोध गरिरहेका छन्। संसदको विपक्षी दल कांग्रेसले जनता समाजवादी पार्टीले पनि विरोध गरिरहेको छ,' उनले भने, 'राष्ट्रपतिलाई पनि यो अधिकार नभएको कुरा बाटोमा हिँड्दाहिँड्दै कसैले विघटन गरेर संसद विघटन हुन्छ?'

ओलीले संसदीय दलको नेता बन्ने योग्यता गुमाइसकेको नेपालले बताए। नेकपा भित्रका ९० सांसदले हस्ताक्षर गरिसकेको, थप २ मन्त्रीले हस्ताक्षर गर्ने, स्थायी कमिटी सदस्य रघुवीर महासेठले पनि हस्ताक्षर गरेको, राष्ट्रियसभाका २४ सदस्यले हस्ताक्षर गरेको अवस्थामा उहाँ दलको नेता रहन योग्य नभएको बताए। उनले आफ्नो पक्षमा १३० जनाको हस्ताक्षर पुग्ने दाबी गरे।

'अहिले उहाँ अल्पमतमा परिसकेको अवस्थामा हिजो संविधानको निर्माण गर्दा गरिएको ब्याख्या हामीले ल्याएको व्यवस्था विरोधी संसद विघटन अलोकतान्त्रिक पनि छ। त्यसो हुनाले घोर विरोध गर्छौँ,' नेता नेपालले भने।

यता, छलफलपछि पत्रकारहरुसँग बोल्दै नेकपाकी सांसद पम्फा भुसालले प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध कानुनी उपचार खोजिने बताए।

'राजनीतिक र कानुनी उपचार खोजिन्छ। राष्ट्रपति संरक्षण गर्न सक्नु भएन्। अब अदालत गुहार्ने हो,' उनले भनिन्, 'राष्ट्रपति रक्षक भन्दा पनि भक्षक हुनुभयो। हाम्रो बहुमत छ। हामीले चाहेको भए पहिल्यै हटाउन सक्थ्यौँ। असंवैधानिक निर्णय मान्दैनौँ।'

उनले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीलाई कारवाही हुने बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell