काठमाडौं : त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले दुनियाँका विश्वविद्यालयबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सकेकोमा प्रधानमन्त्री एवं त्रिविका कुलपती केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन्।
त्रिवीको ४६ औं दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गर्दै उनले भने,'स्रोत र सामर्थ्यको सीमा र चुनौतीकाबीच त्रिभुवन विश्वविद्यालयका केही कमीकमजोरी छन्। तर, यस विश्वविद्यालयले विश्व स्तरकै जनशक्ति उत्पादन गरेको छ।' त्रिविका उत्पादनले विश्वमा प्रतिस्पर्धा गर्न सक्षमता हासिल गर्नुलाई ठूलो उपलब्धी र गौरवको विषय भएको प्रधानमन्त्री ओलीले बताए।
कार्यक्रममा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यमा विश्वविद्यालयका विभिन्न विषय र तहका उपाधि प्राप्त गर्ने विद्यार्थीलाई दीक्षित गरिएको छ। विद्यार्थीहरूलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्रीले देशको जेठो विश्वविद्यालयको रूपमा त्रिविले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए।
'केही वर्ष यता गरेका प्राज्ञिक, प्रशासनिक र व्यवस्थापकीय सुधारका लागि पनि बधाई दिन चाहन्छु। यस अवसरमा मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन हुन् भन्ने कुरा स्मरण गर्न चाहन्छु', प्रधानमन्त्री ओलीले भने।
उनले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनु पर्ने र शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्ने बताए। विकसित मुलुकहरुमा आधारभूत शिक्षा निःशुल्क र विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उदाहरण दिँदै उनले भने,'आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने म ठान्दछु। विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनु पर्दछ भन्ने मेरो मान्यता छ। यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानु पर्दछ।'
मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहने र हाल त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको दावी गरे।
'दीक्षित विद्यार्थीहरूले आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ निभाउनु हुनेछ भन्ने विश्वासका छ। साथै त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमै अगुवा विश्वविद्यालय बन्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।'
