काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको पक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले देशभर प्रदर्शन गर्ने भएको छ। संसद विघटनले राजनीतिक तरंग ल्याइरहँदा अनेरास्ववियुका संयोजक ऐन महरले आफूहरुले प्रधानमन्त्रीको निर्णयको पक्षमा देशभर प्रदर्शन गर्ने जानकारी दिएका छन्। यसका लागि तयार रहन पनि उनले देशभरका सम्पूर्ण कमिटी र नेता कार्यकर्ताहरुलाई अपिल गरेका छन्।
'नेकपाको एकता र ताजा जनादेशका लागि सरकारले चालेको कदमको पक्षमा अनेरास्ववियुले देशभर बृहत् प्रदर्शन गर्नेछ,' संयोजक महरले सामाजिक सञ्जालमा लेखेका छन्, 'अनेरास्ववियुका देशभरिका सम्पूर्ण कमिटी र नेता कार्यकर्ता साथीहरुलाई तयारीका लागि हार्दिक अपिल गर्दछु।'
नेकपाको एकता र ताजा जनादेशका लागि सरकारले चालेको कदमको पक्षमा अनेरास्ववियूले देशभर बृहत् प्रदर्शन गर्नेछ। अनेरास्ववियूका देशभरिका सम्पुर्ण कमिटी र नेता कार्यकर्ता साथिहरुलाई तयारिका लागि हार्दिक अपिल गर्दछु।
Posted by Ain Mahar on Sunday, December 20, 2020
यद्यपि अनेरास्वियूका सहसंयोजक रंजित तामाङ तामाङ भने प्रधानमन्त्रीको निर्णयको विरुद्ध आन्दोलनमा देखिएका छन्। सामाजिक सञ्जालमा आन्दोलनका तस्बिरहरु सेयर गर्दै तामाङले सरकारको कदमको विरोध गरेका छन्।
