PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राजाले सरकारको सिफारिस ‘होल्ड’ गरेर सर्वोच्चलाई सोधेका थिए, राष्ट्रपतिले बिना सल्लाह एकैछिनमा सही गरिदिने? :सुन्दरमणि दीक्षित



पहिलोपोस्ट

राजाले सरकारको सिफारिस ‘होल्ड’ गरेर सर्वोच्चलाई सोधेका थिए, राष्ट्रपतिले बिना सल्लाह एकैछिनमा सही गरिदिने? :सुन्दरमणि दीक्षित

काठमाडौं: नागरिक समाजका अगुवा तथा वरिष्ठ डाक्टर सुन्दरमणी दीक्षितले राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा नाघेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको सिफारिस आँखा चिम्लेर स्वीकृत गर्नु पदीय मानमर्यादा विपरित भएको उनको भनाई थियो।

‘राष्ट्रपतिले पदको मान राख्नुपर्थ्यो। पदीय गरिमा बचाउनुपर्थ्यो। तर त्यसो भएन,’ रिपोर्टर्स क्लबमा दीक्षितले गुनासो गरे, ‘विगतमा आफू शक्तिशाली भए पनि राजा वीरेन्द्रले सरकारले गरेका सिफारिस होल्ड गरेका थिए। सर्वोच्च अदालतलाई सोधेका थिए। सर्वोच्चको राय लिएर अगाडि बढेका थिए। तर आज संवैधानिक राष्ट्रपतिले एक छिनमै सही गरिदिने? विद्या भण्डारी राजनीतिक रुपमा मुछिनुभयो। राष्ट्रपति पद नै खत्तम भयो।’

डा दीक्षितले ओलीको कदम गलत भएको उल्लेख गर्दै अब न्यायलयले सच्याउनुपर्ने धारणा राखे। ‘सर्वोच्च अदालतलाई कुनै विकल्प र उपाय छैन। मुलुक बचाउन संविधानभन्दा बाहिर गएर गरिएको निर्णय सच्याउन पर्छ। विघटन हुन दिनु हुँदैन,’ उनी भन्छन्, ‘ओलीकै लाइनमा सर्वोच्चले सदर गर्‍यो भने मुलुकमा दनदनी आगो बल्छ।’

दीक्षितले अहिलेको अवस्थामा चुनावमा जानै नहुने जिकिर गरे। ‘कोरोना महामारीमा जनता बचाउने पैसा निर्वाचन खर्च गर्ने त्यो पनि ओलीको नाक बचाउनका लागि। अहिले कुनै हालतमा चुनाव हुनुहुँदैन। खोपको पैसा निर्वाचनमा लगाउनु हुन्न। यो कदम गलत छ,’ उनले भने।

चुनावमा त्यही पार्टी, नेता र मान्छे जाने र फेरि चुनिएर पनि तिनीहरु नै आउने भन्दै दीक्षितले वैशाखमा चुनावको आवश्यकता र औचित्य नै नभएको जिकिर गरे।

अहिलेको अवस्था आउनमा सबै दल दोषी रहेको र विशेषगरी नेकपाभित्रका नेताहरु मुख्य रुपमा दोषी रहेको उनको भनाई थियो। ‘ओली जस्तो माहिर नेताको राजनीतिक करियर अब धेरै छैन,’ उनी भन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell