काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध तीन दलले आ-आफ्नो केन्द्रीय समितिपछि साझा धारणा बनाउने भएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको नेकपा असन्तुष्ट समूह, कांग्रेस र जसपाका नेताहरुको बैठकले पहिला आफ्नो केन्द्रीय समितिबाट निर्णय गर्ने र त्यसपछि तीनै दलको साझा धारणा बनाउने सहमति भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘तीनै पार्टीको केन्द्रीय समितिपछि थप निर्णय गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने।
कांग्रेस नेता रमेश लेखकले बैठकपछि भने, ‘भोलि तीनै पार्टीको केन्द्रीय समिति छ। केन्द्रीय समितिको म्यान्डेटअनुसार अघि बढ्छ।’ ओलीको कदमलाई तीनै दलले अलोकतान्त्रिक र असंवैधानिक कदम ठहर गरेको भन्दै लेखकले अब कसरी अगाडि बढ्ने विषयमा केन्द्रीय समितिमा निर्णय गरेर अगाडि बढ्ने कुरा भएको उल्लेख गरे।
प्रधानमन्त्रीले संसद विघटन गरि मध्यावधि चुनाव घोषणा गरेपछि कसरी अगाडि बढ्ने भन्नेबारे तीन दल आइतवारदेखि नै छलफलमा छन्। तर आजको बैठकमा पनि कुनै ठोस निर्णय हुन सकेन।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, जसपाका महन्थ ठाकुर, शरतसिंह भण्डारी लगायत नेता सहभागी थिए।
