PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कांग्रेसले बोलाएको सर्वदलीय बैठकः 'माधव नेपाल बीचैमा निस्किए, मीनेन्द्रले फोटो खिच्न सिकाए'



पहिलोपोस्ट

कांग्रेसले बोलाएको सर्वदलीय बैठकः 'माधव नेपाल बीचैमा निस्किए, मीनेन्द्रले फोटो खिच्न सिकाए'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै विरोधमा रहेका शक्तिहरु एक हुने क्रममा छन्। यही मेसोमा सोमबार दिउँसो ४ बजे नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गर्‍यो।

सर्वदलीय बैठक भएकाले होला देउवा समय अगावै कार्यालय पुगे। कांग्रेसका पदाधिकारी तथा देउवा निकट केही केन्द्रीय सदस्य पनि बैठकमा उपस्थित हुन पुगिसकेका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु -बालकृष्ण खाँण, मीनेन्द्र रिजाल र रमेश लेखक उपस्थित थिए।

बैठकबाट आन्दोलनका कार्यक्रम पक्कै सार्वजनिक होला भन्ने अनुमानका साथ मिडियाको बाक्लो उपस्थिति थियो सानेपामा। ४ बजेर १९ मिनेट पुग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल एकैसाथ सानेपास्थित वीपी भवनमा भित्रिए। उनीहरुलाई स्वागत गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल खटिएका थिए। एकैछिनमा नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेल भित्रिए।

उनीहरु पार्टी कार्यालयभित्र प्रवेश गरेको झन्डै २० मिनेटपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनाल वीपी भवनमा भित्रिए। त्यसपछि प्रचण्डले बोल्न थाले। प्रचण्डले आफ्नो भनाई राखिसकेपछि मिडियालाई फोटो भिडियोका लागि प्रवेश दिइयो।

बैठकमा फोटो र भिडियो खिच्दा कांग्रेस नेताहरु मात्र देखिने डरले होला केन्द्रीय सदस्य रिजालले फोटो खिच्ने आइडिया दिए: जसपाका नेताहरु नदेखिनुहोला यताबाट खिच्नुहोस्। उनको सुझावमा नेकपा प्रवक्ता श्रेष्ठले पनि सही थापे।

त्यसको केहीबेरमा माधव नेपाल बैठकबाट बाहिरिए। झन्डै ५:३० मा। कुनै प्रतिक्रिया नदिइ उनी सुटुक्क निस्किए। उनी बाहिरिएपछि बैठक सकिएको हो कि भन्दै सञ्चारकर्मी सतर्क बसे। तर बैठकबाट नेताहरु निस्किएनन्।

त्यसको झन्डै एक घण्टापछि नेताहरु बैठकबाट बाहिरिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा भएको छलफलबारे जानकारी दिए।

बैठकले पहिला आफ्नो केन्द्रीय समितिबाट निर्णय गर्ने र त्यसपछि तीनै दलको साझा धारणा बनाउने सहमति भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘तीनै पार्टीको केन्द्रीय समितिपछि थप निर्णय गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने।

कांग्रेस नेता रमेश लेखक पनि बैठकमा भएका निर्णय सुनाउन तयार भए। बैठकपछि उनले भने, ‘भोलि तीनै पार्टीको केन्द्रीय समिति छ। केन्द्रीय समितिको म्यान्डेट अनुसार अघि बढ्छ।’ ओलीको कदमलाई तीनै दलले अलोकतान्त्रिक र असंवैधानिक कदम ठहर गरेको भन्दै लेखकले अब कसरी अगाडि बढ्ने विषयमा केन्द्रीय समितिमा निर्णय गरेर अगाडि बढ्ने कुरा भएको उल्लेख गरे।

प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि कसरी अगाडि बढ्ने भन्नेबारे तीन दल आइतबारदेखि नै छलफलमा छन्। तर आजको बैठकमा पनि कुनै ठोस् निर्णय हुन सकेन। कांग्रेसले डाकेको बैठकमा राप्रपाका नेताहरु पनि सहभागी हुने अपेक्षा गरिए पनि उपस्थित भएनन्।

मंगलबार तीनै दलको केन्द्रीय समिति बैठकपछिमात्र के गर्ने भन्ने तय भएको छ। यद्यपि बैठकमा उपस्थित नभएका जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पुस ८ मा सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

राप्रपाको आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठक थियो। राप्रपा सर्वदलीय बैठकमा सहभागी किन भएन भन्ने कुनै कारण खुलाइएको छैन। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सत्तारुढ दलभित्रैका नेताहरु आक्रामक बन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ खोजे पनि उनीहरुले ठोस निर्णय दिन भने अझै समय लगाउने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell