PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बालुवाटारको निर्णय: प्रचण्ड-नेपाललाई कारवाही नगर्ने, सिंगो पार्टीलाई निर्वाचन केन्द्रीत गर्ने, महाधिवेशन आगामी मंसिरमा प्रस्ताव



पहिलोपोस्ट

बालुवाटारको निर्णय: प्रचण्ड-नेपाललाई कारवाही नगर्ने, सिंगो पार्टीलाई निर्वाचन केन्द्रीत गर्ने, महाधिवेशन आगामी मंसिरमा प्रस्ताव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले आफू विरोधी गुटको बैठक अघि नै विभिन्न निर्णय गराएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूहको मंगलवार १ बजे तोकिएको केन्द्रीय कमिटी बैठक अगाडि नै विहान ९ बजे आकस्मिक बैठक बोलाएर ओलीले निर्णय गराएका हुन्।

नारायणकाजीको जिम्मेवारी खोसियो

बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको छ। श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रवक्ताको जिम्मेवारी पाएपछि सञ्चारकर्मीसँगै बोल्दै ज्ञवालीले आफ्नो व्यक्तिगत विचार मात्रै बोल्ने गरेकाले श्रेष्ठलाई हटाइएको बताए। 'पार्टीको कुरा भन्दा पनि ब्यक्तिगत कुरा गरेकाले जिम्मेवारी हेरफेर गरिएको हो। प्रवक्ताको जिम्मेवारी मलाई दिइएको छ,' उनले भने।

महाधिवेशन २०७८ मंसिरमा

ओली समूहको बैठकले महाधिवेशन २०७८ मंसिर २ देखि ७ सम्म गर्ने प्रस्ताव गरेको छ। यस्तै ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा भएको हो। १९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पुष ९ गते १ बजे फेरि केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रचण्ड-नेपाललाई कारवाही नगर्ने

बैठकमा प्रचण्ड र नेपाललाई अनुशासनको कारवाही गर्न छलफल भएको भए पनि ओलीले कसैलाई पनि कारवाही नगर्ने बरु सिंगो पार्टीलाई निर्वाचन केन्द्रीत गर्ने बताएका थिए।

ज्ञवालीले कसैलाई कारवाही नगरेको बताए। 'कसैलाई कारवाही गरिएको छैन। बरु जिम्मेवारी हेरफेर गरिएको हो,' उनले भने।

उनले पार्टी विघटन नहुने बताए। 'प्रतिनिधि सभा विघटन भएको हो, पार्टी विघटन भएको होइन,' उनले भने।

महासचिवविना बैठक बस्न सक्दैन

ज्ञवालीले महासचिवको माइन्युट विनाको निर्णय आधिकारिक नभएको दाबी गरे। बैठक समेत बस्न नसक्ने उनको जिकिर छ। 'पार्टीका महासचिवको माइन्युट विनाको निर्णय हुन्न्। सूचना जारी गर्नुपर्‍यो महासचिवले,' उनले भने।

उनले बालुवाटारको बैठकमा प्रचण्डलाई पनि बोलाएको तर उनी नआएको बताए।  प्रचण्ड-नेपाल समूहको बस्न लागेको बैठक केन्द्रीय कमिटिको बैठक नभएको उनको तर्क छ।

ओलीलाई कसैले हटाउन सक्दैन

ओली संसदको ६४ प्रतिशत मतले प्रधानमन्त्री भएकोले कसैले हटाउन नसक्ने उनले बताए। उनले ओलीकै समूहमा फेरि पनि बहुमत भएको बताए। कसैले चाहँदैमा ओली नहट्ने उनको जिकिर छ। नेकपा किचलोमा विदेशीको हात नभएको उनले बताए। 'आफ्नो थैली बलियो नबनाउने अनि अरुलाई दोष दिने,' उनले भने।

उनले प्रधानमन्त्रीले संविधान अनुसार नै संसद भंग गरेको बताए। काम गर्न नपाएपछि ताजा जनमतमा जानुपरेको उनले बताए। दृष्टि दोष भएकाले मात्रै संविधान विपरित भएको तर्क गर्ने उनको भनाई छ।

प्रगति विवरण सार्वजनिक, निवार्चन आयोगमा जान्छौं

केन्द्रीय कमिटीमा मंगलवार थपिएका सदस्य मनोनयन मार्फत भएको ज्ञवालीले बताए। उनले आवश्यक परे निर्वाचन आयोग जाने जानकारी दिए। यसअघि ४ जना जसरी केन्द्रीय कमिटीमा मनोयन भएका थिए त्यसैगरी अहिले पनि मनोनयन भएको उनको भनाई छ।

सरकारले छिट्टै प्रगति विवरण सार्वजनिक गर्ने ज्ञवालीको भनाई छ। 'हामी छिट्टै के के गरेउ भन्ने डाटा सहित आउँदै छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell