काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूह मात्रै वैधानिक भएको दाबी गरेका छन्।
बबरमहल स्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको वैधानिकता आफूसँग भएको दाबी गरेका हुन्।
बहुमत केन्द्रिय सदस्य आफूसँग भएको भएको भन्दै उनले भने, 'केन्द्रीय कमिटीको बैठकको वैधानिकता हामीसँग छ। हामीसँग ६६ प्रतिशत सदस्यको उपस्थिति छ,' उनले भने।
ओली समुहमा ३२ प्रतिशत पनि नपुगेकाले वैधानिक हुनै नसक्ने प्रचण्डको तर्क थियो।
'३२ प्रतिशत नपुगेको अर्को बैठकले आधिकारिकता पाउँदैन,' उनले भनेका छन्,'हाम्रो पार्टीको विधान छ। निर्वाचन कानुनले हामी वैधानिक छौं।'
आफूले वामदेव गौतमलाई पनि साथ दिन आग्रह गरेको भन्दै उनले भने, 'उहाँ मैले विश्वास गरेका नेताहरुमा एक हो। उहाँ उता जानुभएको छैन्। उहाँ आउनुहुन्छ। हामीले मिलेर बनाएको पार्टी हो।'
बादलले पनि आफूलाई साथ दिने विश्वास दिलाएको प्रचण्डको दाबी छ।
केपी ओलीले बिहान गरेको बैठक नौटंकी भएको प्रचण्डको भनाई छ। उनले एक तिहाइ भन्दा कम हुदाँ दुई तिहाइ थपेर निवार्चन आयोगमा बुझाउनु नौटंकी भएको तर्क गरे।
'बिहान जे भयो नौटंकी हो। एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर तीन तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन। यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,' उनले भने।
प्रचण्डले आफूले प्रस्तुत गरेको प्रतिवेदनलाई ओलीले 'आरोपपत्र' भनेकोमा आपत्ति जनाएका छन्।
सचिवालय बैठकमा बोल्न नपाएको उनको गुनासो छ। कार्यकारी अध्यक्षलाई बोल्न नदिने अधिकार केपी ओलीमा नभएको प्रचण्डको भनाई छ।
'हामीले तयार पारेको प्रस्तावलाई छलफल गराउनै चाहनुभएन्। आरोपत्र भन्नुभयो। सचिवालय बैठकमा बोल्नै नपाउने। पार्टीको कार्यकारी अध्यक्षले बोल्नै नपाउने बोल्नै नदिने अधिकार उहाँलाई कसले दियो,' उनले भने।
ओलीले व्यक्तिवादी र अराजकतावादीको मोर्चा बनाएको प्रचण्डको आरोप छ।