काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर पार्टीविरुद्ध युद्धको घोषणा गरेको बताएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल समूहको केन्द्रीय कमिटी बैठकमा खनालले पार्टी कमिटीमा बोलिएका कुराहरु ओलीले हुबहु सार्वजनिक गर्न लगाएको समेत दाबी गरे।
'सहमतिमा हामीले अगाडि सारेको प्रस्ताव प्रचण्डले पेस गर्नुभयो। त्यसको जवाफ सचिवालयमा पेस नगर्दै मिडियामा दिनुभयो' ओलीले पार्टीको विधान विपरित काम गरेको भन्दै खनालले भने।
खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीले संसदको हत्या गरेको भन्दै भने, 'उहाँहरुले भन्दैमा संसद मर्दैन।'
खनालले सर्वोच्च अदालतबाट संसद पुन: स्थापना हुने विश्वास व्यक्त गरे। 'संविधान प्रति विश्वास छ। केही प्राविधिक कुरा छन्। अब सर्वोच्चले मरेको छैन भन्न पर्यो' उनले भने।
प्रतिनिधिसभा विघटन संविधानको बलात्कार भएको भन्दै उनले त्यसविरुद्ध सिंगो पार्टी र जनता एक हुने बताए। सरकारको पछिल्लो कदम लोकतन्त्र र जनभावना विपरित काम भएकाले जनता पनि छक्क परेको खनालको भनाइ थियो।
ओलीले गरेका गलत कामका कारण नै अहिलेको अवस्था सिर्जना भएको भन्दै खनालले भने, 'केपी ओली सच्चिनुस्। आउनुस फेरि पनि पार्टी एकतालाई अगाडि बढाउँ। हामी पार्टी एकताका पक्षमा छौँ। राष्ट्रिय हितमा छौं '
ओलीले आज बिहान बोलाएको केन्द्रीय कमिटीको बैठकको औचित्य नभएको भन्दै खनालले प्रचण्ड नै आफूहरुको अध्यक्ष भएको बताए।
'अहिले हाम्रो अध्यक्ष प्रचण्ड हो। उहाँले पार्टीलाई अगाडि बढाउनु हुन्छ' उनले भने।
खनालले पार्टी उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादललाई समेत सत्य कुराको साथ दिन आह्वान गरे।
'कमरेड वामदेव गौतम, तपाईं सही कुरामा अडिक हुनुस्। तपाईं बुझेको मान्छे आउनुस्। आज बादल कामरेड पनि आउनु भएको छैन। उहाँलाई पनि सही विचार र नीति प्रति अडिक रहेर पार्टीलाई एकतावद्ध बनाम।'