
सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले उपाध्यक्षमा वीरेन्द्रनगर ४ का प्रमोद हमाल, सदस्यहरुमा बहादुर शाही (हुम्ला), सरोज शाही (जुम्ला), भुमाकुमारी बुढाथोकी (सल्यान), मोहनराज घर्ती (जाजरकोट), हेमा खड्का (दैलेख) रहेका छन्। परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याल (कालिकोट)लाई नियुक्त गर्ने निर्णय गरेको हो।
सोमवार बसेको बैठकले लोपउन्मुख राउटे जातिको संरक्षण र संबर्द्धन गर्न भन्दै प्रतिव्यक्ति थप दुई हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिका दैलेखलाई वित्तीय हस्तान्तरण गर्ने र गाउँपालिकाले नियमानुसार वितरण गर्ने जनाएको छ। दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेहरुलाई नेपाल सरकारले प्रतिव्यक्ति दुई हजार रुपैयाँ दिँदै आएको छ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले खाद्यान्न खरिद तर्फको खर्च शिर्षकबाट विनियोजित भएको रकम मध्येबाट १५ करोड रुपैयाँ र कोभिड शिक्षातर्फको खर्च शिर्षकबाट विनियोजित १० करोड रुपैयाँ क्रमागत आयोजनाहरुको लागि रकमान्तर गर्ने भएको छ।
बैठकले मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गरेको छ भने शान्ति तथा पुनर्स्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ।
द्वन्द्व पीडित घाइते अपांग उपचार राहत खर्च कार्यविधि, २०७७, सहकारी संस्था मार्फत ब्याज अनुदान कार्यविधि, २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्।