इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस फिओरेन्टेनासँग पराजित भएको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले फिओरेन्टेनासँग ३-० को लज्जास्पद हार ब्यहोरेको हो।
फिओरेन्टेनाले खेलको तेस्रो मिनेटमा नै डुसन भ्लाओबिकको गोलमा अग्रता बनाएको थियो। खेलको १८ औं मिनेटाम युभेन्टसका जुआन कुअड्राडोले खराब ट्याकल गरेपछि रातोकार्ड खाँदै बाहिरिएका थिए। दश खेलाडीमा सीमित युभेन्टस पहिलो हाफमा एक गोलले पछि रह्यो।
दोस्रो हाफमा फिओरेन्टेनाले एलेक्स सान्ड्रोको आत्मघाती गोल उपहार पायो। उनले खेलको ७६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए। त्यस्तै मार्टिक कासिरेसले ८१ औं मिनेटमा गोल थप्दै युभेन्टसमाथि ३-० को सानदार जित सुनिश्चित गरे।
जारी सिजन युभेन्टसको यो पहिलो हार हो। १३ खेलबाट २४ अंक जोडेको युभेन्टस तालिकाको चौथो स्थानमा छ। घरेलु मैदानमा पराजित भएसँगै युभेन्टसले तेस्रो स्थानमा पुग्ने अवसर गुमाएको छ। उता १४ खेलबाट १४ अंक जोडेको फिओरेन्टिना तालिकाको १५ औं स्थानमा उक्लिएको छ।
