PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ओली समूह फेरि पनि शक्ति प्रदर्शनमा, केन्द्रको प्रतिनिधि सभा विघटन गरेपछि गाउँतिर माहोल बनाउने तयारी



प्रकाश भण्डारी

ओली समूह फेरि पनि शक्ति प्रदर्शनमा, केन्द्रको प्रतिनिधि सभा विघटन गरेपछि गाउँतिर माहोल बनाउने तयारी
फाइल फोटो : PMO

काठमाडौं : पार्टीभित्र गुट बलियो बनाउन सबैखाले हत्कण्डा अपनाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजित भएपछि त्यसलाई झन् तीब्रता दिएका छन्। 

नेकपाको किचलो बढ्दै जाँदा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरे जसलाई हतारहतारमा नै राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिन्। संसदीय दल र पार्टी कमिटीमा अल्पमतमा पर्ने हुँदा त्यसबाट ओलीको कुर्सी जोगाउन अरु कुनै विकल्प थिएन। आफू कमजोर छैन भन्ने देखाउन ओलीले विधि प्रकृया मिचेरै पनि मिलेसम्मका गतिविधि गरिरहेका छन्।

किचलोकै बीच पार्टी कमिटीमा एक्लिन थालेपछि उनले मदन भण्डारी फाउण्डेसनलाई सक्रिए बनाएका थिए। आफ्नै पक्षमा आन्दोलन गर्न बालुवाटारमा बसेर निर्देशन दिएका थिए। यस्तो क्रमले अझ तीब्र गति लिन थालेको छ। कुर्सी जोगाउन ओलीले आत्मघाती कदम त चालिसके अब त्यसलाई स्थापित गर्ने होडमा सक्रियता बढाइरहेका छन्।

गाउँगाउँसम्म महोल बनाउने प्रयास

केन्द्रीय कमिटीको बैठकमा अल्पमतमा रहेका ओलीले पार्टीमा आफ्नो वर्चस्व देखाउन मंगलवार बालुवाटारमा बोलाएर धमाधम निर्णयहरुमा हस्ताक्षर गरेका छन्। केन्द्रीय कमिटी बिस्तारदेखि पार्टीको प्रवक्ता नै एक्लौटी रुपमा परिवर्तन गरिदिए उनले। साथै महाधिवेशन आउँदो मंसिरका लागि तोकिदिए। जबकि नेकपाले यसै वर्ष एकताको महाधिवेशन बोलाउने तय गरेको थियो।

ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नेता कार्यकर्तालाई डेब्यु गराएका छन्। शक्तिशाली देखाउन उनले कुनै कसर छाडेका छैनन् यद्यपि, उनको संसद विघटनको कदम अदालतमा पुगिसकेको छ। पछिल्ला गतिविधिले न्यायिक निरुपण आफ्नो पक्षमा हुनेमा ओली ढुक्क देखिएका छन्।  

उनले केन्द्रमा आफ्नो पक्षमा माहोल देखाउन भ्याएसम्मका निर्णय गरे। त्यसपछि उनको ध्यान प्रदेश केन्द्रित हुन थालेको छ। प्रदेशमा गतिविधि बढाउने र शक्ति प्रदर्शन गर्ने हेतुले बुधवारदेखि केन्द्रीय कमिटीमा नयाँ मनोनित सदस्यलाई प्रशिक्षण चलाउँदैछन् उनी।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रशिक्षणका लागि सचिवालय, स्थायी कमिटी र केही केन्द्रीय कमिटीका नेताहरुलाई खटाइएको छ। नव मनोनित सदस्यलाई बुधवार एक दिन प्रशिक्षण दिएर जिल्ला हुँदै गाउँसम्म ओलीको पक्षमा महोल बनाउन प्रशिक्षण सुरु हुँदैछ।

सुदूरपश्चिम प्रदेशबाट मनोनित भएकालाई लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र विन्दा पाण्डेले प्रशिक्षण दिने छन्। लेखराज भट्ट पूर्व माओवादी खेमाका नेता हुन्। प्रचण्डसँग निकट रहर लामो समय राजनीति गरेका उनी अहिले ओलीको खेमामा छन्। सुदूर पश्चिममा प्रचण्ड माधवकुमार नेपाल खेमाका भीम रावल 'टावरिङ पर्सनालिटी' रहेकाले भट्ट ओलीसँग अडिएका हुन्। 

कर्णाली प्रदेशकालाई  शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिने तय गरिएको छ। शंकर पोखरेल प्रधानमन्त्रीका विश्वासपात्रका रुपमा रहँदै आएका छन्। ओलीको सत्ता डगमगाउँदासाथ उनी प्रदेशको जिम्मेवारी छाडेर काठमाडौं धाइरहेका हुन्छन्। यसपाला ओलीको मिसनमा शंकरको भूमिका महत्वपूर्ण रुपमा हेरिएको छ। 

लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि थापा र गोमा देवकोटा लगायतका नेताले प्रशिक्षण दिनेछन्। नेकपा महासचिवका हैसियतमा रहँदा विष्णु पौडेल मध्यमार्गी धारमा देखिन्थे। उनी ओली र प्रचण्ड दुवैतिर समान सम्बन्ध राख्दै एकाएक नेकपा महासचिव पद हत्याउन सफल भएका नेता हुन्। अर्थमन्त्रीसमेत रहेका पौडेल यतिखेर ओलीको मिसनका एक महत्वपूर्ण हिस्सा बनेका छन्।

गण्डकी प्रदेशबाट मनोनित भएकालाई टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिनेछन्। टोपबहादुर रायमाझी पूर्व माओवादी खेमाका नेता हुन्। उनले नेकपाको पछिल्लो राजनीतिक घटनाक्रमदेखि नै अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन्।

वागमतीका प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिनेछन्। ईश्वर र पद्मा प्रधानमन्त्री ओलीको क्याबिनेटका सदस्यसमेत हुन्। रक्षामन्त्री रहेका ईश्वरलाई पछिल्लो पटक मन्त्रिपरिषद हेरफेर गर्दा ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका थिए।  

प्रदेश २मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिनेछन्। रघुवीर महासेठ प्रधानमन्त्रीको टिमकै भए पनि हिजो उनी प्रचण्ड-नेपालको भेलामा पनि पुगेका थिए। त्यहाँ उनको उपस्थिति रहे पनि ओली पक्षको अभियानमा उनी पत्नीसहित जोडिइसकेका छन्।

प्रदेश १ का केन्द्रीय सदस्यलाई सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने तय भएको छ। सुवास नेम्वाङ संविधान निर्माणमा सबैभन्दा मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिसमेत हुन्। तर, प्रधानमन्त्रीका पछिल्ला कदमलाई दिशा निर्देश गर्ने भूमिकामा नेम्वाङ रहँदै आएका छन्। प्रधानमन्त्री ओलीको कदमलाई अवसंवैधानिक भनेर नेकपाकै ठूलो वृत्त एक ठाउँमा उभिँदा पनि नेम्वाङ भने ‌ओलीको रक्षापङ्तिमा डटेर लागिरहेका छन्। 

सरकारको डिफेन्स र चुनावको तयारी

ओली समूहका नेता तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावको मिति तोकिएकाले त्यसको तयारी गर्न निर्देशन दिन प्रशिक्षण चलाउन थालिएका प्रतिक्रिया दिए।

पार्टीमा देखिएको समस्या र ओलीले किन संसद विघटन गरे भन्नेबारे पनि मनोनित केन्द्रीय सदस्यलाई जानकारी गराइने तयारी रहेको छ। नेम्वाङका अनुसार गाउँसम्मै पार्टी विभाजन भइसकेकाले आफ्नो समूहका गतिविधि बढाउन प्रशिक्षण दिन थालिएको हो।

'अहिले देखिएको समस्यालाई लिएर गाउँसम्म कसरी जान सकिन्छ। नयाँलाई पार्टीका जिम्मेवारी लगाएतका बारेमा जानकारी हुन्छ। केही निर्देशन दिने कुरा पनि छन्। उनीहरुका सल्लाह सुझाव पनि सुन्ने कार्यक्रम छ,' उनले भने। सरकारले गरेका कामलाई प्रचार गर्न पनि तालिम दिन थालिएको नेम्वाङको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell