PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको कदमको विरोध पनि गर्ने, चुनावमा पनि जाने काँग्रेसको दोधारे नीति किन?



कमलराज भट्ट

ओलीको कदमको विरोध पनि गर्ने, चुनावमा पनि जाने काँग्रेसको दोधारे नीति किन?
फाइल फोटो

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटनको प्रकरणलाई गैर संवैधानिक ठहर्‍यायो। त्यसको विरोध पनि गर्‍यो। तर, जसै काँग्रेस केन्द्रीय समिति बैठक सुरु भयो निर्वाचनको पक्षमा आवाजहरु आउन थाले। संसद विघटन हुनुपूर्व प्रधानमन्त्री ओलीसँग बारम्बार भेट गरेका थिए काँग्रेस सभापति शेरबहादुर देउवाले। देउवामाथि ओलीको सहयोगी भएको आरो पनि छ। संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा पनि भइसकेको छ। सडकमा आन्दोलन गर्दै ओलीको राजीनामा मागिरहेका छन्, काँग्रेसका नेता तथा कार्यकर्ता। त्यहीँ पृष्ठभूमिमा काँग्रेसभित्र निर्वाचनमा जानुपर्ने तर्क गर्नेहरु पनि बढेका छन्। केन्द्रीय सदस्य एनपी साउद पनि तिनैमध्येका एक हुन् जसले नयाँ जनादेशको पक्षमा वकालत गरिरहेको छ। पछिल्लो राजनीतिक कदम र काँग्रेसको भावी रणनीतिबारे साउदसँग पहिलोपोस्टले गरेको कुराकानीको अंश:

प्रधानमन्त्रीले चालेको पछिल्लो कदमलाई काँग्रेसले कसरी लिएको छ?

यो असंवैधानिक र अलोकतान्त्रिक कदम हो। नेकपाको दुई तिहाइ असफल भएको प्रमाण हो। अब नेकपाबाट देश उभो लाग्दैन र ताजा जनादेशमा जानुपर्छ भन्ने सन्देशका रुपमा कांग्रेसले बुझेको छ। यो कदमले राजनीतिक अन्यौलता र स्थिरताको खतरा बढ्यो। दुई तिहाइले पनि स्थिरता र समृद्धि दिन सक्ने रहेनछ भन्ने पुष्टि भयो।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ, तपाईले के धारणा राख्नुभयो?

मैले हिजो बैठकको सुरुवातमा बोलेँ। यो कदम असंवैधानिक र अलोकतान्त्रिक भए पनि सम्मानित अदालतको निर्णयलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्छ। काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले आत्मसात गर्नुको विकल्प छैन। अदालतमा विचाराधिन विषय भएकाले लोकतान्त्रिक पार्टीले आन्दोलन गर्नु उचित हुँदैन। जे निर्णय आउँछ त्यसलाई आत्मसात गरेर चुनावमा जानुपर्छ। सिंगो पार्टीपङ्क्ति चुनावमा लाग्नुपर्छ भन्ने कुरा राखेँ।

तपाईँ एकातिर यो कदमलाई असंवैधानिक भन्ने अर्कोतिर चुनावमा जानुपर्छ भन्ने? यो दोहोरो कुरा भएन र?

यो विषय अदालतले निरुपण गर्ला। तर प्रतिपक्षीले चुनाव बहिष्कार गर्ने कुरो भएन। यदि न्यायालयको निर्णयबाटै चुनाव हुने अवस्था आयो भने प्रचण्डजी र माधव नेपालजीले बहिष्कार गर्छन्? पक्कै पनि उहाँहरु भाग लिनेछन्। मैले आजैदेखि चुनावको तयारीमा लागौ भनेको हो। अदालतको फैसला आफ्नो ठाउँमा छ। तर हाम्रो पार्टी चुनावको तयारीमा लाग्छ। सामना गर्छौं। यो कदम अप्रातान्त्रिक र असंवैधानिक भए पनि काँग्रेस निर्वाचनबाट भाग्दैन। यो विषय अदालतमा रहेकाले निर्क्यौल भएपछि चाँडो निर्वाचन र सहभागिता स्वभाविक हुनेछ। काँग्रेस प्रजातन्त्रको रक्षा र जनतामा जाने कुराबाट पछाडि हट्दैन। सबैलाई स्वीकार्य हुने हिसाबले चुनाव सुनिश्चित गर्नुपर्छ।

यसबारे केन्द्रीय कमिटीले के निर्णय गर्ला?

प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचन घोषणा गरिसकेपछि सहभागी हुने विपक्षीको धर्म नै हो। स्वभाविक हो। केन्द्रीय कमिटीले प्रजातान्त्रिक मूल्य मान्यतालाई हेरेर परिपक्व निर्णय गर्छ।

तपाईँको सभापति र प्रधानमन्त्री मिलेरै अहिलेको परिस्थिति निम्त्याइएको आरोप छ?

मिलेमतो भएको भए उनीहरुको ७५ प्रतिशत र कांग्रेस २५ प्रतिशतमा खुम्चने थिएन। उनीहरु टुटे। अन्तरद्वन्द्वले यो अवस्था आएकोमा सबै जानकार छन्। पछिल्लो कदममा हाम्रो सभापतिको कुनै भूमिका छैन।

संवैधानिक आयोगका नियुक्तिमा पनि तपाईँको सभापतिले भाग लिएको चर्चा छ नि?

संवैधानिक आयोगका नियुक्तिहरुमा हाम्रो समर्थन छैन। हामीसँग सल्लाह भएको छैन। नियुक्तिहरुको विषय अदालतमा विचाराधीन छ। अदालतको निर्णय बमोजिम नै हुन्छ।

तपाईँको विचारमा अहिलेको परिस्थितिको निकास के हो?

अहिलेको परिस्थितिमा अदालतले गर्ने निर्णय बमोजिम नै नेपाली काँग्रेस अगाडि बढ्छ। चुनावबाहेक अर्को विकल्प मैले देख्दिन। आम कार्यकर्तालाई मैले हिजोकै बैठकबाट अदालतको निर्णय मान्नुपर्छ, चुनावका लागि तयार भएर बस्नुपर्छ भनिसकेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell