PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सूर्य चिन्हमा प्रचण्ड-नेपाल समूहको दाबी, 'छाडेर जानेले घर पाउँदैन नी, अर्को बनाउनुपर्छ'



विधुर ढकाल

सूर्य चिन्हमा प्रचण्ड-नेपाल समूहको दाबी, 'छाडेर जानेले घर पाउँदैन नी, अर्को बनाउनुपर्छ'

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको औपचारिक रुपमा घोषणा नभए पनि पार्टी विभाजनको अभ्यास सुरु भइसकेको छ। नेकपामा प्रधानमन्त्री केपी ओली पक्षधरले बुधवार सातै प्रदेशका मनोनित सदस्यहरुलाई प्रशिक्षण दियो भने प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक गरी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गर्‍यो। 

मंगलवार मात्र यो समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो। 

यही निर्णय र मान्युटसहितको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ। २९० केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपाका स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, लिलामणि पोखरेल र केन्द्रीय सदस्य मुक्ति प्रधानले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दाबीसहित हस्ताक्षर बुझाएका हुन्। 

निवेदन दर्ता गराउन पुगेका नेता पाण्डेले २८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र ३ जना उपस्थित हुन नसकेको निवेदन सहित २९० जनाको हस्ताक्षर सहितको निर्णय आयोगमा बुझाएको जानकारी दिए। 

तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकता पछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको उनले बताए। जसमध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ति पाएको र ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने जानकारी दिए। आफूहरुसँगै ७० प्रतिशत केन्द्रीय सदस्य रहेको र बालुवाटारसँग बैठकका लागि कोरम पुग्ने सदस्यसमेत नरहेको बताए। 

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजनतर्फ उन्मुख भएको समेत दाबी गरे। पार्टी विभाजन पछि नेकपा नाम र चुनाव चिन्हको आधिकारिकता आफूहरुले पाउने दाबी गरे। 'हामीसँग ७० प्रतिशत मत छ। विमति छैन। अहिले सम्मका नजिरहरुले पनि त्यही देखाउँछ,' पाण्डेले भने, 'घर छाडेर जानेले घर पाउँदैन नी, अर्को बनाउनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell