काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी तत्काल सडकमा उत्रिनुपर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध सडकमा जान सर्वोच्च अदालतको निर्णय कुर्न नहुने उल्लेख गरे।
एकातिर पदाधिकारी बैठकले ओलीको संसद विघटन कदम सर्वसत्तावादी, निरंकुश चरित्र, घोर अधिनायकवादी चिन्तनको परिणाम भन्ने र अर्कोतिर बैठक गरेर बरालिनु उचित नभएको उनको भनाई थियो।
‘सर्वसत्तावादी, निरंकुश चरित्र, घोर अधिनायकवादी चिन्तनको परिणाम भनेर निर्णय गरेको पार्टीले यो त्यो भनेर छलफल गर्ने होइन। हामीले सर्वोच्च अदालतको निर्णय कुर्ने पनि होइन। अदालतलाई हाम्रो कुरा सुनाउनुपर्छ कि यो असंवैधानिक कदम हो,’ थापाले भने।
नेता थापाले कांग्रेस तुरुन्तै सडकमा जानुपर्ने माग पनि राखे। ‘सडकमा नगइकन हामीले हाम्रो कुरा सही ढंगले जनतामा लान सकदैनौ,’ उनले भने।
कांग्रेसमा संस्थापन पक्षले निर्वाचनमा जानुपर्ने भनिरहेका बेला नेता थापाले प्रधानमन्त्री केपी ओलीले गराउँदै नगराउने चुनावको भ्रममा नपर्न आग्रह गरे। ‘यत्रो संविधान उल्लघन भएको कुरामा हामीले एउटा सहि पोजिसन बनाएनौ भने, निर्वाचन भन्यौ भने केपी ओलीले निर्वाचन गराउने नै होइन। नगराउने निर्वाचनलाई यसले गराउँछ, देश ट्रयाकमा फर्किन्छ भन्ने भ्रममा पर्यौ भने यो अनन्तकालसम्म अध्यारो सुरुङतिर जान्छ,’ उनले भने, ‘हामीले स्ट्यान्ड लियौ र सच्याउन लगायौ भने त्यहीँ संसदले देशलाई निर्वाचनमा लानैपर्छ। थोरै ढिलो तर जाने निर्वाचनकै बाटो हो।’
नेता थापाले संवैधानिक परिषदमा हालै गरिएका नियुक्तिहरुको पनि प्रतिवाद गर्नुपर्ने सुझाव दिए। ‘संवैधानिक परिषद् सम्बन्धी भएका निर्णयका सम्बन्धमा हामीले पूर्णरुपमा त्यसको विरुद्धमा गएनौ, मान्दै मान्दैनौ, त्यसलाई कार्यान्वयन नै हुन दिँदैनौ भन्नेमा हामी गएनौ भने कोही मान्छेले पनि हाम्रो कुरा पत्याउँदैन। त्यसै पनि हाम्रोबारे प्रश्न उठिरहेको छ। झन त्यस्तो बेलामा सेटिङमा, फिक्सिङमा हामी पनि संलग्न रहेछौं भन्ने सन्देश जान्छ,’ उनले नेतृत्वलाई सुझाव दिए।
