काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफूलाई गरेको कारबाही बास बस्न दिएको व्यक्तिलाई घरबाट निकालेजस्तो भएको बताएका छन्। प्रचण्डले आफूलाई कारबाही गर्ने हैसियत नराख्ने बताउँदै ओलीले कुनै पनि बैंक्वेटबाट हुने कारबाहीको अर्थ नरहेको पनि बताएका छन्।
योहो टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भने, ‘मैले पनि कारबाही भएको सुनेँ। तर, यो त बास बस्न दिएकैलाई घरबाट निकालेको घोषणाजस्तो भएन?’
ओलीले प्रचण्डभन्दा आफू कम्तिमा पनि एक दशकअघिबाट राजनीतिमा सक्रिय रहेको बताउँदै कारबाही गर्ने अधिकारमाथि पनि प्रश्न गरे।
ओलीले पछिल्लो समय प्रचण्डलगायतका नेतालाई अन्तिमसम्म पनि सहमति गर्ने प्रयास गरे पनि पार्टी तहसनहस गर्ने नियतबाट प्रचण्ड-नेपाल पक्ष कुरै सुन्न तयार नरहेको दाबी गरे। मंसिर ४ गते बिहान भेटसँगै बेलुका आफूले एकताका पक्षमा टेलिफोन सम्बाद गरेको दाबी गरे। प्रचण्डले आफ्ना कुनै पनि प्रस्ताव नमानेको कुरा आफूले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापालाई पनि जानकारी गराएका दाबी गरे।
