काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश राम्रोसँग चलाउन कम्तीमा ११५-१२० सिट चाहिने बताएका छन्। नेपालको प्रणालीमा बहुमत ल्याउन सजिलो नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले कमसेकम प्रत्यक्षमा ८५ देखि ९० सिट दिनुपर्ने बताए।
योहो टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भने, ‘प्रत्यक्षमा ८३ ल्याए बहुमत पुग्छ तर ११० का लागि फेरि अर्को समस्या रहन्छ। त्यसकारण नेपाली जनताले कमसेकम प्रत्यक्षमा ८५ देखि ९० दिनुपर्छ। त्योभन्दा बढी कम्तीमा ११५-१२० सिट मलाई दिनुपर्छ प्रत्यक्षमा। देश राम्रोसँग चलाउन मलाई यति जनमत चाहिन्छ। म जनतालाई यही आह्वान गर्छु। पपुलर भोटसहित ५० लाखभन्दा बढी भोट मलाइ दिनुपर्छ। यसलेमात्र देश सही दिशामा जान्छ।’
ओलीले विभाजन अरुसँग नभई आफू र प्रचण्डबीच भएको बताए। पेरिसडाँडामा आफ्नो हकदाबी नभएको भन्दै प्रधानमन्त्री ओलीले बल्खु र पेरिसडाँडाको दाबीमा उनले राजनीतिक संस्कार सिक्नुपर्ने बताए।
ओलीले भने, ‘विभाजन भएको प्रचण्डजी र मेरो हो। पेरिसडाँडामा मेरो हकदाबी छैन। बल्खु र पेरिसडाँडाको दाबीमा उहाँले राजनीतिक संस्कार सिक्नुपर्छ। मैले प्रचण्डजीसँग विभाजन गरेको हो। नेपाल, झलनाथ वा नारायणकाजीसँग विभाजन गरेको हैन।’
माधव नेपालतर्फ कटाक्ष गर्दै ओलीले पार्टीका श्रीसम्पत्तिमा उनले दाबी गर्न नमिल्ने बताए।
उनले भने, ‘माधवजीले अब पार्टीका श्रीसम्पत्तिमा दाबी गर्न मिल्दैन। उहाँ प्रचण्डजीसँग काम गर्नुपर्यो। रम्न सिक्नुपर्यो।’
ओली प्रदेश र स्थानीय तहमा जे छ अब त्यही छाड्नुपर्ने बताउँदै प्रचण्ड नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्ने समेत चेतावनी दिए।
‘अविश्वासका नाममा विभाजन गर्ने र एकल पार्टीको बहुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बार्गेनिङ तथा तमासामा फस्ने अवस्था आउनुहुन्न। यही भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’ ओलीले भने।
