PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

स्पोर्टस् पोलिटिक्समा कतार र साउदीको रस्साकस्सी : नेपाललाई फाइदा के?



मुकुन्द घिमिरे

स्पोर्टस् पोलिटिक्समा कतार र साउदीको रस्साकस्सी : नेपाललाई फाइदा के?

काठमाडौं : केही दिन अघिमात्रै २०३० को एसियन गेम्स कतारको दोहामा र सन् २०३४ को एसियन गेम्स् साउदी अरबको रियादमा हुने तय भयो। सन् २०३० मा एसियन गेम्सका लागि प्रतिस्पर्धामा रहेका र राजनीतिक हिसाबले पनि खासै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच देशबीच आयोजनाका लागि प्रतिस्पर्धा चर्कै थियो।

यी देशले आयोजनाका लागि मतदानमा सहयोगको अपेक्षाका लागि नेपाल ओलम्पिक कमिटीसँग पनि आग्रह गरेका थिए। कुटनीतिक हिसाबले भन्ने हो भने यी दुवै देश नेपालीहरुको प्रमुख रोजगारदाता मुलुक हुन्। नेपालका तुलनामा धेरै गुणाले समृद्ध पनि।

प्रतियोगिता आयोजनाका लागि मतदानबाट कतारले २०३० को र साउदीले २०३४ को एसियन गेम्सको आयोजना गर्ने अवसर पाउने निश्चय भयो। एसियन ओलम्पिक कमिटी (ओसीए) अध्यक्ष शेख अहमद अल फहद अल सबाहले दुई प्रतिस्पर्धी देशबीच आयोजनाबारे मतदान गराएर जित्ने देशलाई २०३० र अर्कोलाई २०३४ को एसियन गेम्सको जिम्मेवारी दिएकाले कसैको हार नभएको प्रतिकृया दिँदै भने, 'कोही विजेता भएन, कसैको हार भएन।'

ओमनको मस्कटमा भएको उक्त मतदानमा सहभागी हुन नेपालबाट ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलन्द्रराज श्रेष्ठ गएका थिए।

एसियन गेम्सका आयोजकसँग नेपालको अपेक्षा

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ एसियाका यी देशहरुबाट खेल खेलाडीको विकासका लागि सहयोग हुने हिसाबले आफूहरु प्रस्तुत भएको बताए।

'एसियाको रोजगार केन्द्रका रुपमा रहिरहेको सम्पन्न राष्ट्रहरु कतार साउदी अरबहरु आएर हामीलाई अनुरोध गरे। खेलकुदका हिसाबले भन्नु पर्दा हामीसँग भोटमाग्नु आउनु एउटा खुशीको कुरा हो,' अध्यक्ष श्रेष्ठले भने, 'हामीले चाहिँ के भनेका थियौं भने मौकाको फाइदा लिने कुरामा हामीले राष्ट्रका लागि, खेलाडीहरुका लागि केही हुन सक्छ कि यस्तो अवसरमा भनेर कुराहरु अघि बढाएका थियौं।'

श्रेष्ठले आफूहरुले विशेष गरी दुवै पक्षसँग दुई विषयमा केन्द्रित रहेर कुरा गरेको बताए। जसमध्ये पहिलो चासो हो इन्डोर गेमका लागि कभर्ड हल हो। यो एउटा बार्गेनिङको रुपमा भन्दा पनि भाइचाराको हिसाबले दुवै पक्षसँग आफूहरुले कुरा गरेको श्रेष्ठले प्रष्ट पारे।

'हामीले उहाँहरुसँग बार्गेनिङ भन्दा पनि एउटा हामीलाई नेपालमा इन्डोर गेमहरु अलि पपुलर छ र सम्भावना पनि छ त्यसैले हामी कहाँ एडभान्स खालको कभर्ड हलहरु छैन,' उनले भने, 'नेपालीहरु पनि त्यहाँ इफ्रास्टक्चर डेभलपमेन्टमा पनि काम गरिरहेको छ।'

कतार र साउदी दुवैमा नेपाली कामदार विकासको क्षेत्रमा सहकार्य गर्न सकिनेबारे चर्चा गरेको उनले बताए।

'कतारको कुरा गर्दा, विश्वकपको तयारीमा काम गरिरहेका छन्। साउदीको कुरा गर्दा पनि त्यहाँको विकासको क्षेत्रमा नेपालीहरुले काम गरिरहेका छन्,' दुवै देशसँग आफुले गरेको ब्रिफिङबारे श्रेष्ठले भने, 'त्यसैले यो अवसरमा एउटा सम्झनाका रुपमा तिमीहरुले चाहिँ ५ हजार क्षमताको एउटा कभर्ड हल इन्डोर कभर्ड हल बनाइदिए नेपालका लागि ठूलो एउटा सोभिनियर हुन्छ।'

एउटा इन्डोर गेम खेल्न सकिने ठूलो क्षमताको कभर्ड हल बनाउनसके मैत्रीपूर्ण म्याचहरु गराएर पनि त्यसलाई चलाउन सकिने अवस्था रहने उनको बुझाइ छ। यदि नेपालमा त्यो क्षमताको कभर्डहल बनेको खण्डमा श्रोतहरु आँफै सिर्जना हुँदै जाने र खेलकुदमा उल्लेखनीय योगदान हुनक्ने उनले बताए।

'अर्को भनेको नेपालमा सम्भावना भनेको हाइ अल्टिट्युड सेन्टर हो। त्यसमा अब खाडीले फाइदा लिनसक्छ। त्यो पनि एउटा सम्भावना छ,' श्रेष्ठले थपे, 'त्यसमा पनि कभर्ड हल हाम्रो लागि अत्यन्तै आवश्यक हो। दुवै देशलाई त्यो भनेको छौं।'

दुवै देशले नेपालले राखेको दुईवटै कुरामा सकारात्मक प्रतिक्रिया दिएको श्रेष्ठले बताए।

'हामी केही सोभिनियरको रुपमा गर्छौं भन्ने खालको कुरा दुवै देशले गरेका छन,' श्रेष्ठले थपे, 'यो कुनै त्यस्तो सम्झौता या करार जस्तो होइन एउटा भाइचारा सम्बन्धको आधारमा सोभिनिअरको आधारमा एउटा बनाइदेउ भन्ने हाम्रो एउटा कुरा हो। दुवै सकारात्मक हो। बाकीँ त भविष्यलाई नै छाड्नु पर्छ।'

ओमनको एजीएममा देखिएको इगो

ओमनमा एसियन गेम्सको आयोजक छनोट अघि यी दुई देशबीच 'इगो' को लडाइँ जस्तो अवस्था देखिएको थियो। त्यसै पनि राजनीतिक रुपमा यी दुई देशबीच सम्बन्ध राम्रो छैन। नाकाबन्दीका कारण सम्बन्ध खराब अवस्थाबाटै गुज्रिरहेको छ।

श्रेष्ठका अनुसार पहिला त्यहाँ चाहिँ कसले आयोजना गर्ने भन्नेमा इगो जस्तो भयो। त्यसमा अन्य सबैको सुझाब पनि रह्यो कि एसियन गेम आयोजना र विकासका लागि त्यसले एउटा देश थपिन्छ। हुन पनि एसियाका सबै देशले गर्नसक्ने स्थिति छैन।

'त्यसले हाम्रो एसियाको एउटा खेलाडी र खेलकुदका लागि राम्रो हुन्छ भनेपछि एउटा समझदारी के भयो भने पहिला हामीले एजीएमबाट प्रस्ताव पास गर्ने र भोटिङमा जाने। भोटिङमा पहिलो हुनेले सन् २०३० मा गर्ने र २०३४ मा दोस्रोले गर्ने प्रस्ताव पास गर्ने भन्ने कुरा भयो। पास पनि गरियो। त्यसपछि सौहार्द  वातावरणमै भोटिङ पनि भयो।'

र, भोटिङको आधारमा कतार पहिलो भएपछि 'विनविन' अवस्था भयो।

यस सन्दर्भमा नेपालको तर्फबाट कुटनीतिक हिसाबले दुवै मुलुक समान भएकाले कसैलाई नजिक र कसैलाई टाढा नराखी आफुहरु प्रस्तुत भएको उनले बताए।

'दुवैदेशसँग हाम्रो फेरि कुटनीतिक सम्बन्धका हिसाबले पनि हाम्रा व्यवहार पनि एकदम समान खालकै छ। त्यसैले कसैलाई नजिक राख्नुपर्ने या टाढा राख्नुपर्ने किसिमको भौगोलिक अवस्था पनि छैन,' अध्यक्ष श्रेष्ठले भने, 'हिजोदेखि ऐतिहासिक सम्बन्धको आधारमा पनि त्यस्तै छ।'

अहिलेको सन्दर्भलाई बिर्सने हो भने कतारसँग नेपालको एउटा एमओयू छ र साउदीसँग पनि गर्ने तयारी भइरहेको छ। जसको मुख्य लक्ष्य भनेको खेलकुद विकासका लागि सहकार्य गर्ने भएको उनले बताए।

'यसअघि कतारसँगको एउटा एमओयू छ, दुई देशका ओलम्पिक कमिटीबीचमा। खेलको विकासका लागि सहकार्य गर्ने भनेर। अब साउदीले पनि एउटा एमओयू गर्छु भनेको छ। त्यता पनि हुन्छ,' उनले भने, 'हाम्रो देशको खेलकुदको विकासमा र खेलाडीको विकासमा उहाँहरुको के कति सहयोग लिन सक्छौं र हामीले दिन सक्ने सम्भव भएको सहयोग पनि हामीले आदानप्रदान गर्ने हिसाबले अघि बढ्ने हुन सक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell