PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

लिफ्टको बहाना गरेर लुटेकी थिइन् युवतीले, ग्याङसम्म यसरी पुग्यो प्रहरी



पहिलोपोस्ट

लिफ्टको बहाना गरेर लुटेकी थिइन् युवतीले, ग्याङसम्म यसरी पुग्यो प्रहरी

काठमाडौं :  गत साउन ८ गते भोला बहादुर जर्घामगर मोटरसाइकलमा रत्नपार्कबाट कंलकी जाँदै थिए। त्यही क्रममा रत्नपार्कमा एक युवतीले उनलाई लिफ्ट मागिन्। भोलाले ती युवतीलाई कलंकीसम्म पुर्‍याए। तर युवती त्यहाँ उत्रिनन्। आफूलाई चोभार पुर्‍याइ दिन आग्रह गरिन्। देशमा कोरोनाको कहर त्यसमाथि सार्वजनिक सवारी साधन चलेका थिएनन्। भोलाले फेरि नाइ भन्न सकेनन्। उनले चोभार पुर्‍याउन तयार भए।

जब चोभार पुगे त्यस पछि उनी माथि बर्ज्रपात पर्‍यो। केही युवाले उनलाई घेरा हाले। उनीसँग भएको ६ तोला सुन, ७ हजार रुपैयाँ र अन्य सामान लुटियो। योजनावद्ध ढङ्गमा युवतीले नै उनलाई त्यहाँ पुर्‍याएकी थिइन्।

झण्‍डै पाँच महिना लामो अनुसन्धानपछि प्रहरीले त्यही लुटेरा ग्याङको एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ३ घर भएका ४९ वर्षीय सागर भनिने लालबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले युवतीमार्फत् मानिस लुट्दै आएका थिए। 

'लामो समयदेखि हाम्रो टोली अनुसन्धानमा थियो। युवतीको प्रयोग गरेर मानिसलाई डकैती गर्ने गरेको पाइएको छ,' महाशाखाका एसपी इश्वर कार्कीले भने।

श्रेष्ठको समूहले गत साउन ८ गते सिन्धुली कमलामाई वडा नम्वर २ बस्ने भोलाबहादुर जर्घामगरलाई केटीको  प्रयोग गरेर लुटेका थिए।

'उनीहरुको ग्याङ नै रहेको छ। बाँकीको खोजी गरिरहेका छौं। अरुपनि लुटिएको भए प्रहरीमा उजुरी गर्न अनुरोध गर्दछौं', एसपी कार्कीले भने। यसरी एकान्तमा लग्ने अनि सामान लुट्ने ट्रेन्ड बढेकाले होसियार रहन आग्रह समेत गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell