PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फेरि प्रचण्डसँगको दोस्ती तोड्दै ओलीतिर बादलको लम्कियो गति...



पहिलोपोस्ट

फेरि प्रचण्डसँगको दोस्ती तोड्दै ओलीतिर बादलको लम्कियो गति...

काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कित्ताकाट चर्को रुपमा देखा परेको छ। एउटा कित्ताको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को कित्तामा पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी जमिरहेको छ। 

अध्यक्ष तथा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्दै पार्टी विस्तार गरिरहेका छन्। कुन नेता कता त? नेकपाभित्रको राजनीतिमा अहिले धेरैको चासो यसैमा छ। 

पार्टीभित्रको चर्को विवादमा मौन रहेर पनि चर्चामा आए गृहमन्त्री रामबहादुर थापा र वरिष्ठ नेता बामदेव गौतम। उनीहरुले आफू कता जाने भन्ने सहजै घोषणा गरेनन्। यी दुई नेतालाई आफ्नो गुटमा पार्ने दुवै पक्षका नेता लागिरहे। पुष्पकमल दाहाल र ओलीले पालैपालो गृहमन्त्री थापालाई भेटेर सहयोगको लागि आग्रह गर्नेक्रम जारी रह्यो। बादल भने आकाशको बादल धुम्मिकएकै हिसाबमा रहिरहे।

गृहमन्त्री थापाले दुवै नेतालाई आफू सकारात्मक रहेको जवाफ दिँदै आएका थिए। तर, बुधवार प्रधानमन्त्री केपी ओलीसँगको भेटले बादल खुल्यो। उनले केपी शर्मा ओलीलाई साथ दिने निर्क्यौल भयो। पार्टी एकतापछि पूर्व माओवादीका तर्फबाट गृह मन्त्रालयको कमान सम्हाल्न पाएका बादलले राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने थियो। राजनीतिक विषयमा उतिसारो अभिव्यक्ति नदिने भएकाले बादलमाथि अड्कलबाजीमात्रै हुन्थ्यो। 

राजीनामा नदिएपछि उनले करिब करिब आफ्नो कित्ता प्रष्ट देखाएका थिए। तर ठोकुवा गरेर यही हो भन्ने स्थिति थिएन। हिजो बालुवाटारमा १ घण्टा लामो बैंठकपछि उनी प्रष्ट रुपमा ओली खेमामा नै रहने निर्क्योल भयो। प्रचण्ड पक्षको आशा टुट्यो, ओ‌लीको आत्मबल बढ्यो।

बुधवार बादललाई आफ्नो गुटमा राखिरहन प्रधानमन्त्री ओलीले राम्रै कसरत गरेका थिए। त्यसको निरन्तरता अहिले पनि जारी छ। आज बिहान ११ बजे नै गृहमन्त्री थापा प्रधानमन्त्री भेट्न बालुवार पुगेका थिए। उनी दिउँसोसम्म पनि बालुवाटरमा नै छन्। 'उहाँ आज यताको केन्द्रीय कमिटी बैठकमा नै बस्नुहुन्छ। यतातिर उहाँ आइसक्नु भयो,' ओली पक्षका एक  नेताले भने।

गृहमन्त्री रामबहादुर थापा र पुष्पकमल दाहालको सम्बन्ध केही समयअघि देखि नै चिसिएको थियो। मन्त्रिपरिषद फेरबदल गर्दा गृहमन्त्री रामबहादुर थापालाई फेर्न चाहिरहेका थिए प्रचण्डले। तर, प्रधानमन्त्री ओली प्रचण्डको इच्छाअनुसार फेर्ने मुडमा थिएनन्। त्यसैमा ओलीले खेलिरहेका थिए। हुँदाखाँदाको पद प्रचण्डका कारण गुम्न सक्ने भएपछि बादल ओलितिर नजिक थिए जुन बुधवार थप मुखारित भयो।

त्यसो त बादल र प्रचण्डबीचको सम्बन्ध युद्धकालमा पनि बेलाबेला नचर्किएको होइन। पार्टीको कारबाहीमा पनि परिरहेका थिए उनी। प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई नजिक्याउँदा बादल चिढिएका थिए। माओवादी पार्टी विभाजन हुँदा पनि बादल टुक्रिएर जाने समूहतिर लागेका थिए। संसद भंग भएपछि पनि प्रचण्डसँगको भेटेमा बादलले आफूलाई नारायणकाजीभन्दा माथिको पदमा मागेका थिए। गृहमन्त्री स्रोत भन्छ, 'वरिष्ठ उपाध्यक्षभन्दा माथिको पदमा कुरा भएको थियो। तर प्रचण्डले खासै चासो दिएनन्।' पछि माओवादी केन्द्रमा समाहित भए पनि प्रचण्डसँग 'लभ हेट' सम्बन्धमा रहेका थिए। पछिल्लो प्रकरणमा फेरि बादल ओलीतिरै नै लागेका छन्। प्रचण्डसँगको निकटतम सम्बन्ध र दोस्तीले पनि यसपाला उनलाई ओलीतिर जान रोक्न सकेन भलै प्रचण्डले मन्त्री निवास पुल्चोकमा पुगेर अनुनय विनय गरेका किन नहुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell