PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

संकटमा अनेरास्ववियु : संसद विघटनको समर्थनमा संयोजक, संघर्षमा उत्रिए सह-संयोजक



पहिलोपोस्ट

संकटमा अनेरास्ववियु : संसद विघटनको समर्थनमा संयोजक, संघर्षमा उत्रिए सह-संयोजक

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रुपले दुई कित्तामा उभिएर वैधानिकताको लडाइँमा उत्रिएको छ। यसको प्रत्यक्ष प्रभाव भातृ सङ्गठनहरुमा पनि देखिएको छ। नेकपाको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा पनि अन्यौल देखिएको छ।

अनेरास्ववियुका संयोजक समेत रहेका ऐन महरले संसद विघटन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा 'डिफेन्ड' गर्दै आएका छन्। अझ उनलाई ओलीले केन्द्रीय कमिटी सदस्य बनाउँदै सपथ पनि खुवाइ सकेका छन्। यस्तोमा उनले ओलीको बचाउ गर्दै उनको पक्षमा देशभर प्रदर्शन गर्न आह्वान गरेका छन्।

'नेकपाको एकता र ताजा जनादेशका लागि सरकारले चालेको कदमको पक्षमा अनेरास्ववियुले देशभर बृहत् प्रदर्शन गर्नेछ,' संयोजक महरले सामाजिक सञ्जालमा लेखेका छन्, 'अनेरास्ववियुका देशभरिका सम्पूर्ण कमिटी र नेता कार्यकर्ता साथीहरुलाई तयारीका लागि हार्दिक अपिल गर्दछु।'

त्यस्तै अखिलकै सहसंयोजक रञ्जित तामाङले त विज्ञप्ति नै निकालेर संघर्षका कार्यक्रमहरु नै घोषणा गरिसकेका छन्।

'हजारौं सहिदको रगत, जनताको लामो र कष्टसाध्य संघर्षको परिणाम स्वरूप प्राप्त भएको उपलब्धी गुम्ने खतरा पैदा भएको छ। स्थिर सरकार र पाँच वर्ष नेकपा कै सरकारको जनताले दिएको अभिमत माथि विश्वासघात गरी मुलुकलाई देशी विदेशी प्रतिक्रियावादीको क्रिडास्थल बनाउने षड्यन्त्रको हामी घोर भर्त्सना गर्दछौँ,' तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रतिगमन खारेज गर्दै तत्काल संसद पुनर्स्थापना गर्न आह्वान पनि गर्दछौं। संसद विघटनपछि देशव्यापी रूपमा जनताको प्रतिरोधको उच्च सम्मान गर्दै यो प्रतिरोधलाई अझ विकास गर्न जनता समक्ष अपील गर्दछौँ। साथै अनेरास्ववियुका समस्त कार्यकर्ताहरुलाई दिग्भ्रमित नभई फुटपरस्त गतिविधिलाई अस्वीकार गर्न र प्रतिगामी कदमका विरुद्ध पहिलो चरणका संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ।'

त्यस्तै अनेरास्वियुकै केही नेताहरु 'पर्ख र हेर' को अवस्थामा देखिँदा माधकुमार नेपाल निकट नेताहरु विरोधमै खटिएका देखिन्छन्। नेपाल निकट मानिने सुदेश पराजुली विरोध कार्यक्रममा सहभागी भएको देखिन्छन्। उनले विरोध कार्यक्रमको आह्वान गर्दै सामाजिक सञ्जालमा लेखेका छन्: 'असंवैधानिक कदमको विरोधमा ७७ जिल्लाको सदरमुकाममा भोलि बेलुका मसाल जुलुस आयोजना गर्ने।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell