काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका छन्। १ बजे बैठक डाकिएको भए पनि नेताहरु २ बजेको आसपासमा पार्टी कार्यालय पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली काँग्रेसले त्यसलाई असंवैधानिक त भनेको छ तर पार्टीभित्र ओलीले आह्वान गरेको निर्वाचनमा भाग लिने कि सडक आन्दोलनमा उत्रिने भन्नेमा दुई धार देखिएको छ। सभापति शेरबहादुर देउवा चुनावमा जाने मुडमा देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनको धार समात्नुपर्ने बताएका छन्। केन्द्रीय सदस्यहरुले बोल्ने क्रममा चुनावको पक्ष र विपक्ष दुवैखाले धारणा राखिरहेका छन्।
पौडेल पक्षीय नेताहरु कसरी केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने भन्ने विषयलाई लिएर अनामनगरमा छलफलमा जुटेका थिए। त्यहाँ छलफल सकेर पौडेल समूह पौने २ बजे पार्टी कार्यालय पुगेको थियो। तर, देउवा अझै आइपुगेका थिएनन्। उनीहरु पुगेको केही समयपछि भने देउवा पनि पार्टी कार्यालय पुगेका थिए। प्रकाशमान सिंह, सीतादेवी यादव, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत लगायतका नेताहरु पनि करिब करिब एकै समयमा पार्टी कार्यालय पुगेका छन्।

