PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रतिनिधिसभा विघटन बाध्यात्मक कदम भएको ओलीको केन्द्रीय कमिटीको ठहर, यस्ता छन् बैठकका निर्णय



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन बाध्यात्मक कदम भएको ओलीको केन्द्रीय कमिटीको ठहर, यस्ता छन् बैठकका निर्णय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटनको निर्णयलाई जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदम भएको ठहर गरेको छ। प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको बैठकको ठहर छ।

बैठकले केन्द्रीय कमिटी विस्तारको निर्णयलाई पनि अनुमोदन गरेको छ। बैठकले प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचन उन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटीहरु, जनवर्गीय र सरोकार संगठनहरु, पार्टी सदस्यहरुलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेण्डामा केन्द्रित हुन समेत आह्वान गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको तेस्रो बैठक (२०७७ पुस ७, ९) बाट पारित प्रस्तावहरु :

१. यो बैठक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी, कमरेड तुलसीलाल अमात्य, कमरेड निर्मल लामा, अग्रणी महिला नेतृ कमरेड साहना प्रधान लगायत कम्युनिस्ट आन्दोलनका सबै अग्रजहरुप्रति उच्च सम्मानभाव प्रकट गर्दछ। देश र जनताको हितका लागि शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सबै ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा उहाँहरुको आदर्शलाई सधैभरि दृढतासाथ अनुशरण गरिरहने संकल्प गर्दछ।

२. यो बैठक केन्द्रीय कमिटीको दोस्रो बैठकपछि दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेड कमानसिंह लामा, केन्द्रीय अनुशासन आयोगका सदस्य कमरेड वीरबहादुर ठगुन्ना, गुल्मी जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बोमबहादुर खड्का, प्रतिनिधिसभा सदस्य माननीय सानु शिवा पहाडी, दांग जिल्ला कमिटीका संस्थापक सदस्य माणिकलाल गौतम, संविधानसभा सदस्य कमरेड मानपुर चौधरी, १ नम्बर प्रदेश कमिटी सदस्य हंश राजवंशी, नेकपा सर्लाहीका नेता कमरेड ध्रुव गौतम, भारत प्रवास समन्वय कमिटीका सदस्य वसन्त अधिकारी लगायत कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

३. यो बैठक सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा यही २०७७ साल पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदमका रुपमा ग्रहण गर्दछ। जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलापहरु लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकांक्षा विपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापहरुकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ। नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ। त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मत रुपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयहरुको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ।

४. २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीहरुको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु थियो। तर, केही नेताहरुका पदीय आकांक्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीहरुले उक्त दायित्व पूरा गर्न नसकेको पृष्ठभूमिमा पार्टीका प्रथम अध्यक्षको हैसियतले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई यो बैठक अनुमोदन गर्दछ। नवनियुक्त सबै कमरेडहरुलाई बधाई ज्ञापन गर्दै आफ्नो काँधमा आएको दायित्व पूरा गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ। साथै केन्द्रीय कमिटीका सबै पदाधिकारी एवं सदस्य कमरेडहरुलाई कुनै पनि अन्यौल र भ्रममा नपरी, कुनै पनि विभाजनकारी गतिविधिबाट टाढा रही एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्दछ।

५. यो बैठक प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा भइसकेको र मुलुक निर्वाचन उन्मुख भइसकेको परिप्रेक्ष्यमा सबै मातहत कमिटीहरु, जनवर्गीय र सरोकार संगठनहरु, पार्टी सदस्यहरु, जनप्रतिनिधिहरु एवं सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचनको तयारीको मुख्य एजेण्डामा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गर्दछ।

६. यो बैठक करिब तीन वर्षको अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारहरुको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं संघीयताको कार्यान्वयन, राष्ट्रियताको  सुदृढीकरण एवं नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामहरुलाई उच्च मूल्यांकन गर्दछ। ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, शुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ।

७. यो बैठक हालै सम्पन्न निर्वाचनमा नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा पुननिर्वाचित भएकोमा खुशी तथा सन्तोष व्यक्त गर्दछ। त्यसै गरी संयुक्त राष्ट्र संघको महिलामाथि हुने विभेद उन्मूलन सम्बन्धी कमिटी (सिड कमिटी)मा नेपालका तर्फबाट प्रस्तुत उम्मेदवार दोस्रो पटक उच्च मतका साथ निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दछ।

८. यो बैठक कोभिड संक्रमणका कारण ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचार गराइरहनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। कोभिड १९ को विश्वव्यापी महामारीबाट सिर्जित चुनौतीलाई सामना गर्ने सम्बन्धमा सरकारले चालिरहेका कदमहरुलाई समर्थन गर्दै कोभिड भ्याक्सिनको यथाशीघ्र आपूर्ति गर्न र सबै नेपालीलाई प्राथमिकताका आधारमा र निशुल्क रुपमा खोप उपलव्ध हुने गराउन सरकारसँग आग्रह गर्दछ। कोभिड १९ को महामारीबाट प्रभावित निजी र सार्वजनिक क्षेत्रलाई राहत र पुनर्स्थापनाका प्याकेजहरु उपलव्ध गराएर आर्थिक पुनरुत्थान गर्न, रोजगारी गुमाई फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी उपलव्ध गराउन र महामारीका कारण जनतामा गरिबी र अभावको थप मार पर्न नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell