PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मुस्कानको बकपत्र सकियो, ‘पानीको बोतलमा भरिएको तेजाब खान इन्कार गरेपछि अनुहारमा खन्याए’



राधेश्याम पटेल

मुस्कानको बकपत्र सकियो, ‘पानीको बोतलमा भरिएको तेजाब खान इन्कार गरेपछि अनुहारमा खन्याए’

वीरगंज : गतवर्ष भदौ २० गते वीरगंजमा मुस्कान खातुनमाथि भएको एसिड प्रहार घटनाको सम्बन्धमा पर्सा जिल्ला अदालतमा कारबाही पुनः अगाडि बढेको छ। कोरोना महामारीले गर्दा अदालत बन्द भएपछि केही महिना मुद्दाको प्रकृया लम्बिएको थियो।

बिहीवार मुस्कान खातुनको मुद्दामा उनको बक पत्र सकिएको जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साका सह–न्यायाधीवक्ता दिपेशप्रसाद साहले जानकारी दिए।

‘आज मुस्कान खातुनको बक पत्र सकिएको छ। जाहेरकर्ता मुस्कानका काका, घटना विवरणको कागज गर्ने दुई जना र प्रतिवादी तर्फका २ जना साक्षीका गरी थप ५ जनाको बक पत्र सकिएपछि अन्तिम सुनवाई हुनेछ,’ उनले भने।

उनका अनुसार बक पत्रमा मुस्कान खातुनले पानीको बोत्तलभित्र रहेको तेजाब खान इन्कार गरेपछि उनीहरुले अनुहारमा तेजाबको बोत्तल खन्याएर फरार भएको बयान दिएकी छन्।

‘मुस्कानले भनेकी छन्– यी केटाहरु मलाई पहिले पनि जिस्काउँथे, बुवालाई मैले जानकारी गराएको थिएँ, बुवाले उनीहरुलाई सम्झाएका थिए, त्यसैको रिस साध्न उनीहरुले मलाई टार्गेट गरी तेजाब खुवाएर मार्ने पहिले षड्यन्त्र गरेका थिए, पछि तेजाब खान इन्कार गरेपछि अनुहार र शरीरमा पोखेर भागेका थिए,’ सह न्यायाधिवक्ता साहले भने।

वीरगंज १ छपकैया निवासी १५ वर्षे मुस्कान वीरगंजको कुमालटोलमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्। बिहान ८ बजेको समयमा स्कूल गइरहेको बेला सीता हस्पिटलभन्दा पूर्वको गल्लीमा उनीमाथि एसिड प्रहार भएको थियो। उनीमाथि छपकैयाकै समसाद मिया र साजिद अन्सारी भन्ने दुई जना युवकले एसिड प्रहार गरेका थिए।

उनीहरु अहिले पुर्पक्षको लागि वीरगंज कारागारमा छन्। १६ र १८ वर्ष उमेर भएका दुवै माथि ज्यान मार्ने उद्योग र तेजाब, रसायन तथा अन्य जैविक पदार्थ फालेर कुरुप गर्न नपाइने कसुरमा मुद्दा चलेको छ। दुई महिनाभित्र अन्तिम सुनवाई भएपछि दण्ड साजय हुने बताइएको छ।

मुस्कानको मुद्दा पर्साका मुख्य न्यायाधीश धर्मराज पौडेलको १ नम्बर ईजलाशमा परेको छ।ज्यान मार्ने उद्योगमा १० वर्ष कैद र १ लाख जरिवाना तथा तेजाब हान्ने मुद्दामा ५ देखि ८ वर्ष कैद सजायको व्यवस्था छ। तर, प्रतिवादीहरु नाबालिक भएकोले पूर्ण सजायभन्दा केही कम सजाय हुन सक्ने कानुन व्यवसायीहरुको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell