PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा वितरण तीव्र, १४४ जनालाई ४४ करोड मुआब्जा दिइयो



राधेश्याम पटेल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा वितरण तीव्र, १४४ जनालाई ४४ करोड मुआब्जा दिइयो

वीरगंज : बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जना जग्गा धनीलाई ४४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ। निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा ३ कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड रुपैयाँ मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ।

देशमा कोरोना सङ्क्रमणका कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भए पनि अहिले सो मुआब्जा वितरण भइरहेको विमानस्थल आयोजना कार्यालय सिमराले बताएको छ। मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताए।

मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा चार लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा २ लाख ४० हजार २५० रुपैयाँ र बाटो नभएको जग्गाको प्रतिकट्ठा २ लाख ४ हजार १५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको छ। तटबन्ध, मुआब्जा, नदी नियन्त्रण कार्य, विमानस्थल क्षेत्रमा जग्गाको तारबार पसहा तथा दशैया खोलामा तटबन्धलगायतका काममा हालसम्म ८० करोड रुपैयाँ खर्च भइसकेको छ।

पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजनाले हालसम्म पूर्व तयारीको काम मात्र गर्न सकेको भए पनि मुख्य काम भने शुरु गर्न नसकिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell