PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

ठूला नेताको सुरक्षामा सतर्कता, भिडन्तको आँकलन गर्दै सीडीओ र प्रहरी प्रमुखलाई अलर्ट रहन निर्देशन



सविन ढकाल

ठूला नेताको सुरक्षामा सतर्कता, भिडन्तको आँकलन गर्दै सीडीओ र प्रहरी प्रमुखलाई अलर्ट रहन निर्देशन

काठमाडौं : प्रधामनमन्त्रीको प्रस्तावमा संसद विघटन राष्ट्रपतिबाट पारित भएपछि देशको माहोल नै फेरिएको छ। त्यसमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुईधारमा विभाजन भएपछि सुरक्षा सतर्कता बढाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल - माधव नेपाल पक्षबिच होडबाजी छ आफ्नो पक्षमा नेता तथा कार्यकर्ता ल्याउन। त्यस्तै कार्यकर्ता तहमा देखिएको विभाजन गाउँगाउँसम्म पुगेको छ। पार्टी कार्यालय कब्जादेखि आफ्नो पक्षमा प्रर्दशन, नाराबाजी जस्ता क्रियाकलापले सुरक्षामा चुनौती थपिएको छ। दाहाल- नेपाल पक्षले बिहीवार आन्दोलन गर्ने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा सुरक्षाकर्मीसामु चुनौती थपिनु स्वभाविक हो किनकि पक्ष र विपक्षबीच कुनै पनि समयमा भिडन्त हुने आँकलनमा सुरक्षा निकाय रहनुपर्नेछ।

धेरै उच्च तहका नेता अहिले काठमाडौंमा छन्। काठमाडौं उपत्यकाभित्र उनीहरुको गतिविधि पनि तीब्र छ। त्यसैलाई आधार मानेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षाकर्मीलाई हाई अर्लटमा राखिएको छ। नेपाल प्रहरीमात्र होइन सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई समेत खटाइएको छ।

'प्रर्दशन हुने स्थानहरु, सरकारी निकाय, नेताहरुको कार्यक्रम हुने स्थानलाई विषेश प्राथमिकतामा राखेर सुरक्षा प्रवन्ध मिलाएका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले भने।

त्यस्तै, गृह मन्त्रालयले देशका सबै प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै सुरक्षा व्यवस्था मिलाउन र जिल्ला नछोड्न समेत निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले पनि सबै जिल्लामा पत्राचार गरेर प्रहरीलाई हाइ अर्लटमा रहन निर्देशन दिइसकेको छ। तर, प्रर्दशनमा मात्र होइन अन्य समयमा पनि नेतामाथि सुरक्षा चुनौती रहेकाले थप सुरक्षा प्रबन्ध मिलाइएको छ।

'यतिखेर नेतामाथि सुरक्षा चुनौती थपिएको छ। त्यसैले उच्च तहका नेता बस्ने घर तथा होटेलमा निगरानी बढाएका छौं। स्थानीय प्रहरी परिचालन गरिएको छ,' एक उच्च प्रहरी अधिकृतले भने।

त्यसो त सुरक्षा व्यवस्था अहिले सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली समूहका नेतालाई केन्द्रित गरेर भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए। 'अर्को समूहले आक्रमण गर्ने सम्भावना रहेकाले त्यही अनुसार सुरक्षा मिलाउनु भन्ने छ,' ती अधिकृतले जानकारी दिए।

त्यसो त जसले सरकारको नेतृत्व गर्‍यो उसैले आफू पायकका नेताको सुरक्षा र व्यवस्थापमा ध्यान दिनु ठूलो विषय रहेन। गृहमन्त्री रामबहादुर थापा बादल बिहीवारमात्र ओली समूहमा खुलेरै गएका छन्। त्यसैले पनि ओली पक्षीय नेताको सुरक्षाका लागि उनले रणनीतिक उपाय लिने सम्भावना रहिरहन्छ।

अहिलेको परिस्थितिमा नेत्रविक्रम चन्द नेतृत्वको समूहको घुसपैठ हुनसक्ने आशंकमा सूचना संकलन तथा निगरानी बढाइएको छ। सुरक्षाका हिसाबमा अहिले विप्लव समूह चुनौतीको घेरमा रहेको छ। कतै यो समूहले आन्दोलन भड्काउने त होइन भन्ने आशंका सुरक्षा निकायको नेतृत्व सम्हालेकामा देखिएको छ।

'हामीले सुरक्षा चुनौतिलाई ध्यानमा दिएर सुरक्षा व्यवस्था मिलाएका छौं। त्यसको लागि आवश्यक सुचना संकलन देखि अन्य अप्रेसनहरु भइरहेको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell