काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकताको लागि आफ्नो दाबी प्रस्तुत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै पार्टी फुटको अवस्थामा छ। पार्टी फुट्दै गर्दा पार्टीको नाम र चुनाव चिह्नको आधिकारिकताको दाबी नेकपाका दुई गुटले गरेका छन्। यस्तोमा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्यसहित नेतृत्व नै र्यालीसहित निर्वाचन आयोग पुगेर दाबी प्रस्तुत गरेका छन्।
निर्वाचन आयोग पुगेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका दुई तिहाई बढी केन्द्रीय सदस्यहरु आफूहरुसँग रहेको भन्दै नाम र चिह्नमा दाबी गरेका छन्।
'पुस ७ गते ३१५ जना केन्द्रीय सदस्यको उपस्थितिमा बैठक बसेको सोको माइन्युटसहितको जानकारी आयोगलाई जानकारी दिएका छौं। २९० जनाको हस्ताक्षरसहित जानकारी गराएका छौँ,' उनले भने, 'पार्टीको बैधानिकताका लागि आवश्यक रहे सबै केन्द्रीय सदस्य स-शरीर उपस्थित हुने छौँ।'
उनले अर्को समूहले सयको हाराहारीमा बैठक बसेर पाँच सय बढी सदस्य थप गरेर अवैध रुपमा पार्टी र चुनाव चिह्नमा दाबी गरिएको बताए। प्रचण्डले बैठकको माइन्युट र विवरणसमेत प्रमुख निर्वाचन आयुक्तलाई हस्तान्तरण गरे।
आयोगमा पुगेका अर्का अध्यक्ष माधव कुमार नेपालले २०४७ सालमा निर्वाचन आयोगमा पुगेर संघर्षका साथ सूर्य चिन्ह पाएको भन्दै उनले यसमा कसैले आँखा लगाउन नपाउने दाबी गरे। उनले निर्वाचन आयोगसमक्ष आफ्नो दाबी प्रस्तुत गर्दै भने, 'हामी अहिले मास्क लगाएका छौँ। चाहिन्छ भने त्यो पनि खोल्छौँ। हाम्रा नागरिकता देखाउन तयार छौँ।'
भेट पछि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निवेदनलाई तोकिएको अवधिभित्र अगाडि बढाउने र तोकिएको अवधिभन्दा अगाडि नै विवाद टुंग्याउने बताए। उनले भने, 'निर्वाचन आयोग यसलाई कानुन सर्वोच्च अदालतका केही नजिरहरु पनि छन्। ति सबै र प्रचलित कानुन वमोजिम समाधान गर्नेछ।'
