PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,रिक्त मन्त्रालयमा मन्त्री थपिँदै, यी हुन् सम्भावित नाम



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,रिक्त मन्त्रालयमा मन्त्री थपिँदै, यी हुन् सम्भावित नाम

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। यसका लागि प्रधानमन्त्रीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइँले मन्त्रिपरिषद् पुनर्गठन हुनलागेको जानकारी दिए। 'मन्त्रिपरिषद् पुनर्गठन हुन्छ। त्यसको तयारी भइरहेको छ,' उनले भने। ओलीले शुक्रवार नै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका हुन्। बिहीवार ओली समूहको केन्द्रीय कमिटी बैठक सकिएलगतै उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए।

को को हुँदैछन् मन्त्री?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड र माधव नेपाल समूहका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएका ७ जना मन्त्रीले पुस ७ गते राजीनामा गरेका थिए। ओलीले संसद विघटन गरेको विरोधमा मन्त्रीहरुले राजीनामा दिएका हुन्। उनीहरुको राजीनामासँगै मन्त्रिमण्डलमा को सहभागी हुने भन्ने ओली समूहको नेकपामा चर्चा चलेको थियो।  

मन्त्री हुनेको दौडमा पूर्व माओवादी समूहबाट ओली गुटमा सहभागी नेताहरुको नाम अग्रस्थानमा छ। स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणी थापा सरकारमा सहभागी हुने बताइएको छ। यस्तै, महेश बस्नेत, नवराज सिलवाल र र गोकुल बाँस्कोटाको नाम पनि मन्त्री हुने सूचीमा रहेको ओली निकटका नेताहरुले बताएका छन्। त्यसैगरी कर्णालीबाट मोहन बानियाँ मन्त्री हुने चर्चा छ। सुदूरपश्चिमबाट प्रेम आले मगरको नाम पनि चर्चामा छ।

पार्टी कमिटी र संसदीय दलमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेका थिए। उनको कदमको विरोधमा प्रचण्ड-नेपाल समूहको नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell