बेलायतबाट अमेरिका जाने सम्पूर्ण यात्रुको कोभिड-१९ परीक्षणलाई अनिवार्य बनाइएको छ। यात्राको ७२ घण्टा भित्र गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ हुनुपर्ने जनाइएको छ। बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि उक्त नियम लागू गरिएको बीबीसीमा जनाइएको छ।
डिसेम्बर २८ देखि यात्रुले ल्याब परीक्षणको रिपोर्ट पेश गर्न पर्नेछ। कोरोनाको नयाँ लहरसँगै अन्य देशका सीमा बेलायतका लागि बन्द गरिएको छ।
बेलायतमा पनि कडाईका साथ प्रतिबन्ध लगाइएका छन्।
स्वास्थ्य अधिकारीहरूले देखिएको नयाँ स्वरुपको भाइरस ज्यादा जोखिमपूर्ण भएको तथ्य पुष्टि नभएको जनाएका छन्। उक्त भाइरसको लागि फरक भ्याक्सिन आवश्यक नभएपनि पहिलेको भन्दा ७० प्रतिशत ज्यादा संक्रामक भएको बताएका छन्।
संक्रमण फैलन नदिन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यात्रुमाथि अनिवार्य परीक्षणको नियम लगाएको हो। यात्रुका लागि नयाँ क्वारेन्टिन नियम पनि जारी गरेको छ।
बेलायतमा विहीवार मात्र ३९ हजार ३६ नयाँ संक्रमित थपिए। त्यस्तै ५ सय ७४ जनाको संक्रमण देखिएको २८ दिनमा मृत्यु भएको पाइएको छ।
