PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कोभिड-१९ युगमा कसरी बन्दैछन् फिल्म? कसरी कायम गरिएको छ सुरक्षा?



पहिलोपोस्ट

कोभिड-१९ युगमा कसरी बन्दैछन् फिल्म? कसरी कायम गरिएको छ सुरक्षा?
प्रतीकात्‍मक तस्विर

कोरोना भाइरस महामारी र यसको नियन्त्रणका लागि गरिएको लकडाउनपछि बन्द भएका फिल्म एवं टिभी कार्यक्रमहरू फेरि ब्यूतिँदै छन्। छायाँकनहरू पुन: सुरु भएको छ तर, सेट र सेटमा काम गर्नेहरूको भूमिका बद्लिएको छ। त्यसैले छायाँकनमा फर्किएका फिल्मकर्मी, प्राविधिक एवं अन्य कामदार कसैका लागि पनि अवस्था पहिले जस्तो छैन।

विश्वभरका फिल्म उद्योगमा छायाँकन स्थलमा आवश्यक सुरक्षा नीति अपनाएर काम भइरहेको छ। तर, कोरोना भाइरस संक्रमणको जोखिम कम भने पक्कै छैन।

विशेषगरी बलिउड कलाकारहरू एवं अन्य प्राविधिक एकपछि अर्को गर्दै कोभिड-१९ संक्रमित भइरहेका छन्। यसै साता बलिउड स्टार रजनीकान्त अभिनित फिल्म 'अन्नाथ्थे' छायाँकनका क्रममा संलग्न चार मानिसमा कोभिड-१९ संक्रमण देखियो।

नेपाली निर्देशक दीपेन्द्र लामा भने जोखिम केही कम भएपछि मात्र छायाँकनमा फर्कनु उचित भएको बताउँछन्। उनको निर्देशन रहने फिल्म 'दुई नम्बरी' छायाँकनको दशौं दिन सेटबाट काठमाडौं फर्किएको थियो। संक्रमण नियन्त्रण र कास्ट र क्रुको सुरक्षाका लागि भन्दै। करिव एक महिनामा पुन: छायाँकनमा फर्कने योजना बनाएका थिए। तर, संक्रमण बढ्यो। लकडाउन बढ्दै गयो।

त्यसयता फिल्मको काम ठप्प छ। ‘काम रोकिँदासम्म निर्माताको करिब ४० लाख खर्च भइसकेको छ। सकिएको ३५ प्रतिशत छायाँकन फेरि सुट गर्नु परेन भने त त्यो सम्पूर्ण लगानी खेर गएन तर रिसुट गर्नुपर्‍यो भने? ,’ निर्देशक दीपेन्द्र लामा प्रश्न गर्छन्।

त्यसैले तत्काल क्रुलाई काममा फर्काउन तयार छैनन् उनी। भलै फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्ने मागसहित नेपाली फिल्म क्षेत्रका ६ ठूला संघहरूले आन्दोलन गरे। फिल्म क्षेत्र खुलाउन सरकारलाई सांकेतिक दवाव स्वरुप हल सञ्चालनमा ल्याइएको छ। बिस्तारै फिल्महरू छायाँकनका लागि फ्लोरमा उत्रने तयारी गरिरहेका छन्।

फिल्म 'चोर र पुलिस' युनिट त गत कार्तिकमै छायाँकनका लागि कालिञ्चोक पुगेको थियो। हेलिकप्टर चार्टर गरेर। लकडाउनपछि सरकारको तर्फबाट आधिकारिक अनुमति घोषणा नभइ छायाँकन थालिएको सम्भवत: पहिलो फिल्म हो यो। निर्देशक आरएल लामाले आवश्यक सुरक्षा मापदण्ड पूरा गरेको दावी गरेका थिए।

यस्तोमा कसरी बन्दैछन् विश्वमा फिल्म? वा कसरी कायम गर्न सकिन्छ छायाँकन स्थलमा सुरक्षा?

नयाँ सुरक्षा नीति तथा निर्देशनसहित काम गर्न सबैलाई आफ्नो काम गर्ने तरिका बदल्नु परेको छ। कोभिड-१९ संक्रमणको त्रासबीच कसरी भइरहेको छ त फिल्म निर्माणको काम? बीबीसीको रिपोर्ट :

बेलायती फिल्म निर्माता हेलेन जोन्स एक मनोवैज्ञानिक हरर फिल्म बनाइरहेका छन्। फिल्ममा निआम अल्गर र माइकल स्माइली छन्। सन् २०२१ मै सार्वजनिक हुने भनिएको फिल्मको काम गत मार्चको अन्त्य सम्ममा सकिने तयारी थियो। ठीक त्यही बेला महामारी सुरु भयो। र, छायाँकन नै रोक्नु पर्‍यो। लकडाउन अवधिभर उनले ब्रिटिश फिल्म कमिसन (बिएफसी) को सिफारिसको आधारमा तयार निर्देशन पालन गरिन्।

जुलाई २७ मा उनी ४ दिनको छायाँकनका लागि सेटमा निस्किइन्। भलै छायाँकन स्थल उत्तरी इङ्ल्यान्ड थियो।

भन्छिन्,'हामीसँग समयको अभाव थियो। हामी जोखिम कम भएसम्म पर्खन बाध्य थियौं। सँगै हामीलाई कलाकार वा अन्य क्रु सदस्य अर्कै प्रोजेक्टमा जाने डर पनि थियो।'

छायाँकनमा पुन: फर्कने बारे बिएफसीले जुन १ तारिखमा मात्र निर्देशन दिएको थियो। त्यहाँदेखि निर्देशनहरू निरन्तर बद्ली रहे। जोन्सले हरेक दिन ती प्रावधानहरू हेर्छिन्। उनको लाइन प्रोड्युसर वा सह निर्देशक सधैं अतिरिक्त तालिम लिइरहेका छन्। साथै सेटमा सधैं स्वास्थ्यकर्मी उपस्थित रहन्छन्।

कोभिड-१९ नियन्त्रणका लागि जारी निर्देशन बमोमजिम सामाजिक दूरी कायम राखिएको छ। दूरी कायम हुन नसक्ने अवस्थामा कम मानिसको उपस्थिति जनाइएको छ।

जोन्स सेटमा क्यामेरा र साउण्ड क्रु मात्र राख्छिन्। कस्ट्युम, मेकअप लगायतका लागि बेग्लै ठाउँ व्यवस्था गरिएको बताउँछिन् उनी।

कोभिड-१९ पछि जोन्सले आफ्नो फिल्मको सेटमा मोनिटरिङ सिस्टम थप गरेकी छिन्। पहिले निर्देशकको एउटै वा मेकअप आर्टिस्टहरूको अर्को मोनिटरमा हेर्नेहरूको झुण्ड लाग्थ्यो। हाल त्यो अवस्था छैन।

'चुनौतीहरू थपिए तर तीन महिना घरमा रहेर फेरि काममा फर्कदाको जोसले काम गर्ने उत्साह दियो। हामी सतर्क छौं। यो साझा अनुभव र सतर्कताले नै छायाँकन सफल बनायो', उनले भनेकी छिन्।

प्रानो बेली बन्ड फिल्म 'सेन्सर'की निर्देशक एवं सह लेखिका हुन्। यो उनको पहिलो फिचर फिल्म हो। उनले फिल्मको कामलाई निरन्तरता दिन नयाँ सुरक्षा उपायहरू त अपनाइन्‍ साथै समस्याको रचनात्मक समाधान पनि खोजिन्।

'हाम्रो कोभिड-१९ सुरक्षा अधिकारी सेटमा जम्मा ६ सहायक कलाकार राख् भन्छन्। त्यसैले म सधैं सेटमा तोकिएभन्दा थप मान्छे भएको महसुस गर्दै कसरी काम गर्ने? सोच्थें', उनले भनिन्।

एकपटक रेस्टुरेन्टको दृश्य खिच्नु थियो। निकै सानो ठाउँमा छायाँकन भइरहेकाले उनी एकसाथ आवश्यक सबैलाई त्यहाँ आउन दिन सक्दिन थिइन्। आर्ट डिपार्टमेन्टको कोही आउँदा लाइटिङ क्रुलाई बाहिरै रोक्नु पर्थ्यो। जसका कारण प्रक्रिया निकै लामो बन्न पुग्थ्यो।

हर दृश्यका लागि 'अनस्क्रिन जोखिम' मोलेको उनको दावी छ। आफूलाई सबैभन्दा बढी आफ्नो कास्ट र क्रुको मानसिक स्वस्थ्यलाई लिएर भएको बताउँछिन्।

प्रोडक्शन डिजाइनर जोसेफिन एसबर्ग फिचर फिल्म 'ट्र्याङ्गल अफ स्याडनेस'मा काम गरिरहेकी छिन्। फिल्मको छायाँकन जूनको अन्तिम सातादेखि स्वीडेनमा तीन महिनापछि फेरि सुरु भएको हो।  

स्वीडिस निर्देशक आसलुन्को ११ मिलियन डलर बजेट रहेको यस फिल्म युरोपको ठूलो फिल्म हो। जसका लागि एसबर्गको विभागको काम अन्य क्रु छायाँकनका लागि पुग्नु अघि नै सुरु भएको थियो। महिना दिनपछि काममा फर्कदा आफूलाई निकै खुशी लागेको बताउँछिन् उनी। छायाँकनमा हरेक विभागका क्रुलाई फरक फरक रङ दिइएको थियो। कला हेर्नेलाई गुलाबी रङ्ग दिइएको थियो र एसबर्गले गुलाबीसँगै हरियो रङ् पनि पाइन्। जसका कारण उनलाई मुख्य क्रु भएको ठाउँमा जाने अनुमति दिइयो। यसरी उनीहरूले सामाजिक दूरी कायम गरे।

सेटमा उनीहरूले टिफिन बट्टामा खाना पाए। मास्क र फेस सिल्ड अनिवार्य गरियो। सबैलाई थर्मोमिटर समेत उपलब्ध गराइएको थियो।

'मलाई दूरी कायम गर्दा नरमाइलो र असामाजिक महसुस भने भएको थियो', उनले भनेकी छिन्।

लिजी टालबोट त फिल्म छायाँकन स्थलमा इनिटिमेसी संयोजकका रुपमा अनुबन्धित भइन्। को कसको नजिक कति जाने भन्ने विषय उनी निर्धारण गर्थिन्। मिटू अभियान सुरु भएयता फिल्म निर्माण युनिटले नयाँ प्रयोग थालेको हो।

फिल्ममा यौन तथा अंतरंग दृश्य कोरियोग्राफीमा भूमिका निभाउँछन्। सँगै गैर-यौनिक अंतरंग दृश्यमा पनि उनीहरूको सल्लाह आवश्यक हुन्छ।

बिएफसीको निर्देशनलाई आधार मान्दा कोभिड-१९ पछि शारीरिक निकटतासहितको दृश्य छायाँकनमा अठ्याराहरू थिए। त्यसका लागि पनि इन्टिमेसी संयोजकहरूले सहजिकरण गरेका छन्। कलाकारहरूको निजी सुरक्षामा पनि उनीहरूको भूमिका रहन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell