काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिस्ट नेतामा हुने चरित्र नभएको टिप्पणी गरेका छन्।
आफ्नो समूहको बबरमहलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले ओली बदलाका भावले अघि बढेको बताए। उनले ८ औं महाधिवेशनमा पनि जित्नका लागि अनेक तिक्डम गरेको बताए।
नवौं महाधिवेशनमा पनि ओलीले बदला लिन नपाएको र बरु पार्टी एकतापछि बदला लिन प्रयास गरेको उनको आरोप छ।
ओलीको शैलीलाई खनालले गोमन सर्पसँग तुलना गरे। 'बदला लिने भावनाले चल्नु हुनुरहेछ। कुनै पनि कम्युनिस्ट त्यसरी चल्दैन। उहाँ गोमनसाप जस्तै हो। गोमनसाप हिर्कायो र भाग्यो भने उसले सम्झिरहन्छ,' उनले भने।
पार्टी एकतापछि आफूलाई ओलीले अपमान गरेको खनालले गुनासो गरे। 'पार्टी एकता संयोजन समिति बनायौं। जसलाई ओलीले भंग गर्नु भो। पछि राष्ट्रवाद ल्याउनु भो। हामी नीति र विधिमा चल्छौं। सिनियर जुनियर भनेको अनेक हुन्छन्। अहिले हामीले दुबैलाई अध्यक्ष बनाएका छौं। भर्खरै बनायौं। सर्वमसम्मत नेपाललाई अध्यक्ष बनायौं,' उनले भने।
सर्वसम्मत रुपमा माधव नेपाललाई आफूहरुले अध्यक्ष बनाएको उनको भनाई छ। प्रचण्ड र नेपाल हाल समान हैसियतमा रहेको उनले स्पष्ट पारे।
