PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

‘रिच’ कार्यक्रमले आठ लाख स्कुले बालबालिकाको निःशुल्क आँखा स्क्रिनिङ गर्दै



राधेश्याम पटेल

‘रिच’ कार्यक्रमले आठ लाख स्कुले बालबालिकाको निःशुल्क आँखा स्क्रिनिङ गर्दै

वीरगंज : अर्विस इण्डियाको सहयोगमा नेपालमा रेफ्रेक्टिभ एरर एमोङ स्कुल गोइङ चिल्ड्रेन (रिच) कार्यक्रम लागु भएको छ। सन् २०१८ देखि २०२२ सम्म प्रदेश १ र २ को चार जिल्लामा यो कार्यक्रम लागु भएको छ।

नेपाल नेत्र ज्योति संघको समन्वयमा चार जिल्लाको चार वटा आँखा अस्पतालसँगको सहकार्यमा यो कार्यक्रमले नेपालका ८ लाख बालबालिकाको निःशुल्क आँँखाको स्क्रिनिङ तथा उपचार गर्ने योजना राखेको रिच कार्यक्रमका व्यवस्थापक रन्जन साहले जानकारी दिए। प्रदेश २ को पर्सामा रामकुमार महाबीरप्रसाद केडिया आँखा अस्पताल परवानीपुर, सिरहाको सगरमाथा चौधरी आँखा अस्पताल लहान, प्रदेश १ को विराटनगर आँखा अस्पताल मोरङ, मेची आँखा अस्पताल झापामा यो कार्यक्रम लागु भएको हो।

प्रत्येक जिल्लाका सम्पूर्ण स्थानीय तहमा शिक्षा प्रशासन महाशाखासँग समन्वय गरी प्रत्येक विद्यालयका १८ वर्ष मुनिका स्कुले बालबालिका तथा शिक्षकहरुको समेत आँखाको स्क्रिनिङ गरी आँखामा भएको दृष्टिदोषलाई हटाउन रिच कार्यक्रमले प्रत्येक जिल्लामा २०–२० जनाको दरमा ८० जना स्वास्थ्यकर्मी पनि परिचालन गरिसकेको उनले बताए। हालसम्म प्रदेश १ र २ मा गरी करिब साढे ३ लाख बालबालिकाको आँखाको निःशुल्क परीक्षण तथा उपचार भइसकेको जनाइएको छ।

पर्सामा हाल वीरगंज महानगरको ३२ वटा वडामा यो कार्यक्रम लागु भएको जनाइएको छ। त्यसपछि अन्य नगरपालिका र गाउँपालिकामा यो कार्यक्रम लागु हुने केडिया आँखा अस्पतालमा खटेको रिचका सुपरभाइजर सच्चिदानन्द चौधरीले बताए।

बालबालिकामा आँखाको कमजोरीको कारण विद्यालय जीवनमै पढाई छोडेर भविष्य अन्धकार हुने बालबालिकालाई सही समयमै आँखा उपचार गरी शिक्षा हासिल गरी जीवन निर्वाह गर्न यो कार्याक्रमले सहयोग गर्ने केडिया आँखा अस्पतालका वरिष्ठ प्रशासक प्रकाशकुमार बर्माले बताए। कार्यक्रम अन्तर्गत बालबालिकाको विद्यालयमै गएर शिविर राखेर आँखा परीक्षण गर्ने, चश्मा आवश्यक परेका विद्यार्थीलाई चश्मा उपलब्ध गराउने र ५ वर्ष सम्म बालबालिकाको फलोअप गर्ने कार्यक्रमको लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell