काठमाडौँः मन्त्रिपरिषद् विस्तारसँगै मौजुदा मन्त्रीको जिम्मेवारी फेरिएको छ। शुक्रबार साँझ नयाँ आठ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघिका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई जिम्मेवारीबाट हटाइएको छ।
टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, प्रेमबहादुर आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्रीको शपथ लिएका छन्। यस्तै, विमला विश्वकर्माले राज्यमन्त्रीको शपथ लिएकी छन्।
रायमाझीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रभुलाई सहरी विकास, थापालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नयाँ मन्त्रीको शपथ लिएका आलेलाई वन तथा वातावरण, ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, लामालाई युवा तथा खेलकुद, महतोलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र चौधरीलाई श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ। विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिएको छ।
यस्तै, भानुभक्त ढकाललाई स्वास्थ्यबाट पर्यटन लगिएको छ। संघीय मामिलाका हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
महिला बालबालिकाका लीलानाथ श्रेष्ठलाई कानुन र कानुनबाट डा. शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। भूमिसुधारबाट पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
