PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

देशलाई सडक मानवमुक्त बनाउने अभियानमा ‘सरकारको सारथी मानव सेवा आश्रम’



फूलमाया पुरी

देशलाई सडक मानवमुक्त बनाउने अभियानमा ‘सरकारको सारथी मानव सेवा आश्रम’

विराटनगर : सरकारको नीतिमा रहेको सडक मानव मुक्त राष्ट्रिय अभियानमा मानव सेवा आश्रम एक विश्वासिलो सारथी भएको प्रदेश १ सामाजिक विकास मन्त्री जसमाया गजमेरले बताइन्।

‘बेरोजगारको समस्याले परिवारको माया नपाउँदा साहारविहीन भइ सडकमा आश्रित हुन बाध्यहरूले चोटपटक लाग्दा समेत उपचार पाउन सकेका छैनन्’, मन्त्री गजमेर भन्छिन्, ‘त्यसैले मन्त्रालयको नेतृत्वमा भइरहेको सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणामा मानव सेवा आश्रम एक विश्वासिलो सारथी हो।‘

उनले मानव सेवा आश्रमले तय गरेको मेची महाकाली यात्राको अभिभावकत्व सामाजिक विकास मन्त्रालयले गरिरहेको बताइन्। जसले सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र घोषणा २०७८ को पहिलो चरणमा प्रदेश १ अन्तर्गत् पहिलो दिन विहीवार झापा र शुक्रवार सुनसरीमा उद्दार कार्यक्रम सम्पन्न गरेको छ।

विहीवार झापाका १५ वटै स्थानीय तहको समन्वय र सकृयतामा ७६ जना सहयोगापेक्षी सडक मानव आश्रितको उद्दार गरिएको हो। जसमध्ये एक बालक र एक बालिकासहित २९ महिला र ४५ पुरुष रहेका छन्।

अबका दिनमा कोही पनि मानिस सडकमा भोकै सुत्न र छटपटाउन नपरोस् भन्ने तीनै तहको सरकारको योजना भएकाले यसप्रति प्रदेश सरकार संवेदनशिल रहेको मन्त्री गजमेरको भनाइ छ।

मानव सेवा आश्रमका अभियान्ताहरुको जोश र समपर्णको प्रसंसा गर्दै बेरोजगार हुनु र सहयोगापेक्षी फरक हुन्। भने गरिब हुनु र साहाराविहिन पनि एकदमै फरक भएको उनले प्रस्ट्याइन्।

‘त्यसैले मानव सेवा आश्रम निस्वार्थ भावले सहयोगापेक्षी सहाराबिहिनहरूका  सेवाका लागि आएकाले सरकारले यस संस्थाप्रति पूर्ण विश्वासका साथ सहकार्य गरेको छ’, उनले भनिन्।

राज्यको लागि सबै समान भएको हुँदा रोजगार गर्न सक्नेहरूले आफ्नो क्षमताको प्रयोग गर्नुपर्ने र सडकमा आश्रित हुन नपर्ने बताउँछन् सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल। काम गरिखान सक्नेहरू पनि मागेर खाने र सडकमा बस्ने गर्दा मानव सेवा आश्रमलाई पनि व्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको उनको तर्क छ।

शुक्रवार सुनसरीको इटहरीमा भएको उद्दार कार्यक्रममा उनले भने, ‘अबका दिनमा कोहि पनि सडकमा अलपत्र हुन नपरोस भन्ने कामना गर्छु।‘

पहिलो चरणमा उद्दार भएका केही व्यक्तिहरू यस अभियानले खोजेका भन्दा फरक भएको सामाजिक विकास मन्त्रालय सचिव गोविन्द बहादुर कार्कीको भनाइ छ।

काम गरेर खान सक्नेले लत्तो छाडेर सडकमा नबस्न र समाजको बोझ नबन्न समेत आग्रह गरे।

‘जसले गरेर खान सक्नुहुन्छ त्यस्ता व्यक्तिले कुनै निश्चित ठाउँमा संस्थामा केही छाक खाने हैसियतभित्र पर्छु कि पर्दिन भन्ने स्वमूल्याकंन गर्न जरुरी छ‘, कार्की भन्छन्, ‘यहाँ आएका तपाईंहरू रहर होइन बाध्यता होला भने परामर्शको खाँचो पनि होला जुन मानव सेवा आश्रमले प्रदान गर्नेछ।‘

रहरले सडकमा आएकालाई कारवाही र बाध्यताले आएकालाई सरोकार निकाय सबैले सहयोग गर्नुपर्ने बताउँछन् धरान उपमहानगरपालिकाका मेयर तिलक राई।

उनका अनुसार कतिपय अवस्थामा सडक आश्रितहरुलाई पारिवारिक मिलन गराएकाहरू फेरि सडकमा आएका छन्। त्यस्तो अवस्थामा परिवारलाई पनि परामर्श जरुरी हुन्छ। आगामी दिनमा सामूहिक रुपमा यस्ता कार्यक्रम गर्नुपर्ने उनले बताए।

उपमहानगरपालिकाको सकृयतामा ४० महिला र ६३ जना पुरुषको उद्दार भएकोमा महिलाहरूलाई माया घर पठाइएको छ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सहयोगापेक्षी सडक मानव मुक्त अभियान जीवनमा र स्थानीय सरकारको कार्याकालमै फरक अनुभवको कार्यक्रम भएको बताइन्।

‘सडक मानव मुक्त हुनुपर्छ भन्ने राजनैतिक घोषणा थियो तीनै तहका सरकारको प्रतिवद्दता पनि, तर कार्यान्वयनमा भने अहिले आयो’, उनले भनिन्।

उपमेयर गौतमका अनुसार कोभिड-१९ जोखिमका कारण लकडाउनको समयमा सडकमा जीवन बिताइरहेकालाई कसरी बचाउने भन्ने चिन्ता थियो। त्यसबेला धेरै मानिसहरू अनेक समस्याका कारण सडकमा आएका थिए। तर, अब सडकमा आउनुअघि नै आउन नदिने उपचारको खोजी गर्नुपर्छ।

साहित्यकार झमक घिमिरेको शुभकामना

सहयोगापेक्षी सडक मानवमुक्त अभियानमा साहित्यकार झमक घिमिरेले पनि शुभकामना सन्देश पठाएकी छिन्। उनले आफ्नो सन्देशमार्फत् भनेकी छिन् - ‘शारीरिक रुपमा उपस्थित हुन नपाएकोमा क्षमा माग्छु, यस्तो पूण्य कार्यको प्रशंसा गर्दै मानव सेवा आश्रमले सडक आश्रित मानवहरुको उद्दारका लागि गरेको मेचीमहाकाली यात्रामा निस्किए सबैलाई हार्दिक शुभकामना।‘

कोही पनि व्यक्ति खाना, नाना र छानाबाट बन्चित हुन नपरोस् भन्ने मानव सेवा आश्रमको उद्देश्य रहेको आश्रमका सचिव सुमन बर्तौलाले बताए।

बर्तौलाका अनुसार कुनै समय सहयोगापेक्षी सडक मानवहरुको व्यवस्थापनमा परिणाममुखि कार्य हुन नसकिरहेको अवस्थामा थिएन। जुन समयमा उनीहरुको संरक्षणका लागि न त सरकारको कुनै नीति थियो न त जनस्तरमा यस बारे चासो नै।

तर, पाँच वर्षको बिचमा सरकारका नीति नियम परिवर्तन भएका छन्। परिवर्तित अवस्थामा सरकारकै नीतिमा सहयोगापेक्षी सडक मानव मुक्त कार्यक्रम पर्न सफल भएको उनले बताए।

करिव नौ वर्षदेखि सञ्चालित मानव सेवा आश्रमले सहयोगापेक्षी सडक मानव (असाहाय, अशक्त, बेसाहार) हरुको उद्दार तथा संरक्षण गर्दै आएको छ। 

हालसम्म १४ वटा जिल्लामा १७ वटा केन्द्रहरु सञ्चालनमा आएका छन्। त्यस्तै उक्त केन्द्रहरुमा हाल १२ सय भन्दा बढीले जना सहयोगापेक्षीहरुले सेवा पाइरहेका छन्। ७०० जनाको पारिवारिक मिलन गराउन सफल यस संस्थाले २५० जनालाई अल्पकालिक सेवा दिइसकेको छ।

शुक्रवार सुनसरी जिल्लाबाट १११ जना सडक आश्रित व्यक्तिहरुको उद्दार गरिएको छ। धरान उपमहानगपालिकाबाट ६३ जना पुरुष र इटहरी उपमहानगरपालिकाबाट ७ महिलासहित ३० जना सडक आश्रित मानिसहरुको उद्दार गरिएको हो। त्यस्तै  १६ जना बालकहरुको पनि उद्दार गरिएको छ।

उद्दार गरिएकाहरु १६ जना बालका खोजतलास तथा समन्वय केन्द्र (१०४) सँग समन्वयन गरी पठाइएको छ। त्यस्तै बाँकी ९३ जनालाई मानव सेवा आश्रम विराटनगर ल्याइएको आश्रमका १ नं प्रदेश संयोजक नवराज केसीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell