PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सुपमा नेकपाको अंकगणित: ३९ जनामध्ये एक मन्त्रीसहित ५ प्रदेश सांसदमात्रै ओलीतिर, लेखराज भट्ट एक्लिए



एम बम

सुपमा नेकपाको अंकगणित: ३९ जनामध्ये एक मन्त्रीसहित ५ प्रदेश सांसदमात्रै ओलीतिर, लेखराज भट्ट एक्लिए

कैलाली: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय राजनीतिक तरंग उछालमा पुगेपछि त्यसको जोड घटाउ तल्लो तहसम्म त पुग्ने नै भयो। दुई अध्यक्ष रहेको पार्टीमा दुवै जनाले जनमतलाई थाती राखेर भागबण्डा र आरोप प्रत्यारोप गर्न थालेपछि उनीहरूको कित्ता नै अलग भयो। त्यसको फलस्वरूप अब प्रदेशमा पनि दुवै पक्षमा जोड घटाउन सुरु भइसकेको छ।

केन्द्रमा अर्का अध्यक्षसँग मिलेर जानुभन्दा संसद् विघटन गर्ने निर्णयमा पुगेका ओलीको सुदूरपश्चिममा भने अंकगणित अल्पमतमा छ। सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९ जना सदस्य छन्। जसमध्ये हालसम्म ओली पक्षमा एक मन्त्रीसहित पाँच जनाले मात्रै आफ्नो कित्ता क्लियर गरेका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, प्रदेशसभा सदस्य रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट र महेशदत्त जोशी स्पष्ट रूपमा ओली समूहमा देखिएका छन्। महेशदत्त जोशीले त ओली पक्षले डाँकेको केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाएको फोटो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन्।

अन्य ३४ जना प्रदेशसभा सदस्य आफ्नो कित्तामा रहेको दाहाल नेपाल पक्षको दाबी छ। नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेश सभाका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कलबहादुर रावलसहित ३५ जना सदस्य दाहाल नेपाल पक्षमा छन्।

तथापि त्यसमध्येका केही सदस्यहरू खुलेर बाहिर आइसकेका छैनन्। जसमा सभामुखअर्जुन बहादुर थापा र उपसभामुख निर्मला बडाल जोशी पनि पर्दछन्। त्यस्तै पूर्व माओवादी पक्षका लेखराज भट्ट निकट मानिने सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिकी सभापति कुन्ती जोशी पनि कुनै कित्तामा खुलेकी छैनन्।

‘अहिले कसको पक्षमा जानेभन्दा पनि देशको संकट देखेर जनताको मतप्रति भएको अपमान देखेर अत्यन्त दुखित हुनुपर्ने अवस्था आएको छ। पार्टीमा दुई अध्यक्षहरूको अहङ्कार मलाएपछि जनताले यो सङ्कट बेहोर्नुपर्ने बेला आएको हो,’ जोशीले पहिलो पोस्टसँग भनिन्। उनले भावनात्मक रूपमा विगतबाटै आफू लेखराज भट्ट निकट रहेको र आफ्नो आदर्श नेताका रूपमा समेत उनलाई लिने गरेको बताइन्। तर पछिल्लो राजनीतिक घटनाक्रम नेताहरूको प्रवृत्तिले अहिले आफू कतै पनि नरहेको दाबी गरिन्।

त्यस्तै प्रदेशमा कित्ता क्लियर गरी नसकेका तथा थप चासोका साथ हेरिएका व्यक्ति हुन्, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा। उनी कतातिर भन्ने खुलेको छैन। बोहराको नेकपाका नेता भीम रावल र लेखराज भट्ट दुबैसँग राम्रो सम्बन्ध छ।

लेखराज भट्ट एक्लै ओलीतर्फ

पार्टी एकता अघिसम्म माओवादीका पहिलो बरियताका नेता लेखराज भट्ट भने अहिले ओली कित्तामा प्रस्ट खुलिसकेका छन्। तर उनीपछि ओली कित्तामा जाने एक जना केन्द्रीय सदस्य समेत छैनन्। तत्कालीन एमाले माओवादी एकता हुँदा माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका सुदूरपश्चिमका १४ मध्ये १३ जना दाहाल–नेपाल समूहमै रहेको सो समूहको दाबी छ। नेकपाका केन्द्रीय सदस्य खगराज भट्टले लेखराजबाहेक अरू सबै केन्द्रीय सदस्य दाहाल–नेपाल समूहमा रहेको बताए।

पार्टी एकता ताका सुदूरपश्चिमबाट ३६ केन्द्रीय सदस्य बनेका थिए। त्यसमा तत्कालीन माओवादी केन्द्रतर्फका १४ र एमालेका २२ जना हुन्।

सुदूरपश्चिम प्रदेशमा पूर्व एमालेबाट ४ र माओवादीबाट ३ मन्त्री छन्। जसमा पूर्वमाओवादीबाट मन्त्री बनेका एक जना पनि अहिले लेखराजको पक्षमा छैनन्। लेखराजकै सिफारिसमा मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले अहिले लेखराजको साथ छोडिसकेका छन्।

यसरी हेर्दा सुदूरपश्चिममा दाहाल नेपाल समूह बलियो देखिएको छ। तर स्पष्ट खुलिनसकेको र अदालत तथा निर्वाचन आयोग पर्खिरहेका सदस्यहरूले नेकपा विभाजनको कित्तामा केही तलमाथि पर्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell