PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनी र एपीएफको विजयी सुरुवात



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनी र एपीएफको विजयी सुरुवात

काठमाडौं: दाङको लमहीमा आजबाट सुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेटमा आज लुम्बिनी र शसस्त्र प्रहरीको एपीएफले विजयी सुरुवात गरेका छन्।

उद्घाटन खेलमा विजयी सुरुवात गरेको लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्‍यो।

खेलमा ७८ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनीले उक्त लक्ष्यलाई १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो।

लुम्बिनीको सहज जितमा गीता गोसाईले सर्वाधिक २३ रनको योगदान गरिन्। अविजित रहेकी उनले ४२ बलको सामना गर्दै २ चौकासहित उक्त रन बनाएकी थिइन्। यस्तै टिमका लागि सरस्वती घर्ती मगरले २२ रन बनाइन्।

११.६ ओभरमा टिमको स्कोर ५३ रन हुँदा कविता गौतमको बलमा आउट हुन् पुगेकी उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै १ चौका समेत प्रहार गरिन्। यस्तै टिमकी कप्तान नेरी थापाले पनि अविजित रहदै १५ रन जोडिन्।

खेलमा त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेट गुमाएर ७७ रन मात्र बनाएको थियो।

प्रदेश २ का लागि ओपनर ब्याटर अनुराधा चौधरी र सना प्रविनले समान २१/२१ रन बनाएका थिए। त्यस्तै विमला मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन्।

बलिङतर्फ लुम्बिनी प्रदेशका सुस्मिता भुषालले सर्वाधिक ३ विकेट हात पारिन् यस्तै कप्तान नेरी थापा, स्वस्तिका बजगाई र गीता गोसाईले पनि १/१ विकेट लिएका थिए।

त्यस्तै आजै भएको दोस्रो खेलमा साविक विजेता विभागीय टोली एपीएफले कर्णालीलाई २ सय ४ रनले पराजित गरेको हरायो।

खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३१ रनमा सीमित हुन् पुग्यो। उसका लागि कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित रहदै ५ बनाइन्।

बलिङमा एपीएफकी करुणा भण्डारीले सर्वाधिक ५ विकेट हात पार्दा राजमती ऐरीले २ तथा सोनु खड्का र रेखा रावलले समान १-१ विकेट लिए।

त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो।

टिमले विशाल योगफल खडा गर्ने क्रममा कप्तान सीता राना मगरले कप्तानी पारी खेलिन्। टिमका लागि सर्वाधिक रन बनाएकी उनले ५९ बलको सामना गर्दै ८ चौकासहित ६८ रन बनाइन्। यस्तै सरिता मगरले पनि ४४ रन बनाउँदा ज्योति पाण्डेले ३२ र इन्दु वर्माले २२ रन जोडेकी जोडेका थिए।

बलिङमा कर्णालीको तर्फबाट दीक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ समान १/१ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell