PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गंगाको मृत्युले जन्माएको प्रश्न : हत्या कि आत्महत्या?



पहिलोपोस्ट

गंगाको मृत्युले जन्माएको प्रश्न : हत्या कि आत्महत्या?
प्रतीकात्मक दृष्य।

काठमाडौं : शनिवार बिहान करिब ८ बजेतिर भक्तपुरको चाँगुनारायण नगरपालिका ५ थालिङमा एक जना ३५ वर्षीय महिला आफ्नै कोठामा मृत अवस्थामा फेला परिन्। घाटीमा डोरीको पासो लगाएर झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

शंकास्पद बनेको उनको मृत्युले प्रश्न उब्जाएको छ - हत्या हो या आत्महत्या? मृत्युको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी अनुसन्धानमै छ। त्यसैले अहिले नै हत्या वा आत्महत्या के हो खुलाउन प्रहरीसँग यथेष्ट प्रमाण छैन। 

'हामीलाई ८ बजेतिर जानकारी आएको थियो। घटनास्थल पुगेर हेर्दा डोरीको पासो बनाएर आफु सुत्ने कोठाको झ्यालमा झुन्डिएको अवस्थामा पाएका हौं। अहिले नै हत्या वा आत्महत्या के हो भन्न सकिने अबस्था छैन,' महानगरी प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले भनिन्।

घरमा घटना भएको दिन उनका श्रीमान् र सासु समेत थिए। मृतकका माइतीपक्षले हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्। त्यसपछि प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। माइतीपक्षले भने गंगाले आत्महत्या नभएर हत्या  भएको बताउँदै आएको छ। हत्याको आरोप गंगाका श्रीमान् र सासुमाथि लगाएका छन् उनीहरुले।

'हामीलाई आमहत्या लाग्दैन। हत्या भएको हो। उनका श्रीमान्, ससुरा मिलेर गरेको हुनुपर्छ। अनुसन्धान गर्नको लागि निवेदन दिएका छौं,' मृतका सानोबुबा योगेन्द्र केसीले भने।

आखिर किन गंगाको मृत्यु उनीहरुलाई शंकास्पद लाग्यो? घटनास्थलमा प्रहरीले कुनै पनि शंकास्पद सामानहरु फेला परेको छैन। मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको एसपी थापाले जानकारी दिए। मृतको शरीर तथा कोठाबाट अहिलेसम्म कुनै पनि सुसाइट नोट समेत फेला परेको छैन। पासोमा झुन्डिएको शरीरले भने तल रहेको मुढामा छोएको जस्तो देखिएको छ। खुट्टाले भुँइमा छोएको छ।

'मुढाले कसरी छोयो? यसले पनि शंका लागेको छ। प्रहरीले निष्पक्ष छानविन गरोस्,' मृतकका योगेन्द्रले भने।

गंगाका एक ९ वर्षीय छोरा समेत छन्। उनी छोरासँग सुत्थिन्। तर घटना भएको दिन भने छोरा घरमा नभएको प्रहरीले जानकारी दिएको छ। उनी केही दिनअघि आफन्तकहाँ गएका थिए। श्रीमान् भने अर्को नै कोठामा सुत्दै आएका थिए। श्रीमान र श्रीमतीबीच भने केही समयदेखि राम्रो सम्बन्ध थिएन। उनीहरुको सम्बन्धको कारणले पनि माइतीपक्षले मृत्युलाई संन्देहपूर्ण तरिकाले हेरेका हुन्।

'शवलाई पोष्टमार्टको लागि पठाएको छ। हामी त्यसको रिपोर्ट समेत कुरिरहेका छौं। अन्य पाटो समेत हेरिरहेका छौं,' एसपी थापाले भनिन्।

प्रहरी अनुसन्धानमा नै भएकाले घटना अहिलेसम्म शंकास्पद मृत्यु मात्र भन्न सकिन्छ। तर, हत्या नभएर श्रीमान् वा सासुले आत्महत्या गर्न प्रेरित गरेको भए २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले उनीहरुलाई कारबाहीको भागिदार बनाउन सक्छ।

ऐनको दफा १८५ मा आत्महतया गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell