काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गतको आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित निकालेको छ। मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा लुम्बिनी प्रदेशले ९ विकेटको सहज जित निकालेको हो।
दाङको लमही रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन जोडिन्। उता लुम्बिनीका लागि नेरी थापाले २ विकेट लिँदा सरिता जिसी र गीता गोसाइले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले अधिकांश रन अतिरिक्त रनबाट जोडेको थियो। कर्णालीका बलरले ३.१ ओभर बलिङ गर्दा २० रन अतिरिक्त दिएका थिए। जसमा १७ रन वाइडबाट, २ रन नो बलबाट र १ रन लेगबाइबाट आएको थियो।
त्यसबाहेक कप्तान नेरी थापाले ९ रनमा अभिजित रहँदा गीत गोसाइले ४ रन जोडिन्।
प्रतियोगितामा लुम्बिनीको यो लगातार दोस्रो जित हो। जितसँगै लुम्बिनी ४ अंक जोडेर समूह ए को शीर्षस्थानमा छ।
आजै हुने दोस्रो खेलमा विभागीय टोली एपीएफ र प्रदेश २ प्रतिस्पर्धा गर्नेछन्।
